• १३ साउन २०८१, आइतबार

सडकमा पानीको दह !

blog

काठमाडौं, असार २३ गते । वरपरको सडक ठीकै छ, सहजै सवारी आवतजावत गर्न सक्छ बीचमा पुगेपछि पानीका दह देखिन्छ, खाडल कति गहिरो छ भनेर सवारी एकछिन रोकिएर मात्र जाने गर्छन् ।

यो दृश्य गोकर्णेश्वर नगरपालिका–९ आरुबारीको सडकको हो । मेलम्चीको खानेपानी आयोजनाको पानीपोखरी बनेको भागको यो सडक पहिले नै कालोपत्रे भइसक्नुपर्ने हो । ग्राभेल बिच्छ्याएर कालोपत्रको काम थाँती राख्दा दैनिक हजारौँ सवारी एवं पैदलयात्रुले सास्ती भोग्नुपरेको छ । हप्तौँदेखि सडक किनारमा ग्राभेल पनि थुपारिएको छ । ग्राभेल हालेर सडक नबनाउँदा पैदलयात्रामा कठिनाइ भएको स्थानीयवासी राजेन्द्र चालिसेले गुनासो गर्नुभयो ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको कामका लागि उपयोग भएको सडक हेर्ने जिम्मा पाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय र निर्माण व्यवसायीले बेलैमा काम गर्न ध्यान नदिँदा यात्रु मर्कामा परेका हुन् । जसका कारण स्थानीयवासीले आयोजनालाई गाली गरिरहेका छन् ।

निर्देशनालयका सूचना अधिकारी एवं आयोजना उपनिर्देशक चन्द्रकुमार पाँ श्रेष्ठ यो सडक कालोपत्र हुने क्रममा रहेको बताउनुहुन्छ । वर्षाका कारण केही समय काम रोकिए पनि छिट्टै काम सम्पन्न हुने उहाँको भनाइ छ ।