• ११ पुस २०८१, बिहिबार

सुकुमबासीलाई पटक–पटक यातना

blog

माला कर्ण

कल्याणपुर, असार २३ गते । ऐलानी जग्गामा बसोबास गर्दैआएको एक दलित परिवारलाई जमिनदारले जग्गा खालि गराउन पटक–पटक यातना दिँदैआएका छन् । सप्तरीमा पछिल्लो पटक गत शनिबार गाउँमा अदालतको आदेश भन्दै ऐलानी जग्गामा बस्दैआएका सुकुमबासी सदायको घर हटाउन खोजिएपछि महिलाले प्रतिवाद गरेका छन् । 

अदालतका कर्मचारी, प्रहरीसहितको टोलीसँग स्थानीय सुकुमबासी महिलाले घर भत्काउन प्रतिवाद गरेपछि जग्गा खाली गराउन पुनः आउने व्यहोराको मुचुल्का उठाएर टोली फर्किएको पीडितले बताएका छन् । 

सप्तरीको खडक नगरपालिका– २ दुहवीका ५० वर्षीय सदाय बुबाको पालादेखि नै बस्दै आएको ऐलानी जग्गा वर्षाको समयमा खाली गराउन ऐलानी जग्गासँगै जोडिएको उत्तरतिर जग्गा रहेको दुहवीकै जमिनदार चौठी साहुले सदाय परिवारको घर भत्काउने प्रयास गर्दैआएका छन् । 

स्थानीय अमहा खोलाको पूर्वतिर दुहवी गाउँ जाने सडकको उत्तरी किनारको डेढ कठ्ठा ऐलानी जग्गामा ३० वर्षभन्दा बढी समयदेखि सदाय घर बनाएर बसोवास गर्दैआएको स्थानीय गाउँले बताएका छन् । सदायको ऐलानी जग्गासँगै जोडिएको उत्तरतिर चौठी साहुको जग्गा छ । 

स्थानीयहरुका अनुसार सडक किनारको उत्तरतिर रहेको दुई बिघा तीन कठ्ठा १९ धुर ऐलानी जग्गामा १९ घर सुकुमबासीको बस्ती छ । वर्षौंदेखि बस्दैआएका सुकुमबासीमध्ये सदायको घर भत्काउन गत शनिबार तेस्रो पटक घर भत्काउन टोली आएको बेचुकी बुहारी जितनीदेवी सदायले बताउनुभयो । 

जितनीका अनुसार गत पुस, चैतमा पनि घर खाली गर्न आएकालाई स्थानीय गाउँलेले रोकेका थिए । खडक २ का निवर्तमान वडा सदस्य समेत रहेका स्थानीय बिल्टु सदायका अनुसार साहुले दलित वस्तीलाई हटाएर सार्वजनिक जग्गा हडप्न खोजेका छन् ।

सो वडाका नवनिर्वाचित वडाध्यक्ष हरेराम मण्डलले कतै जमिन खाली नहुँदा ऐलानीमा घर बनाएर सदाय परिवार बस्दै आएको बताउनुभयो । ‘मजदुरी गरेर बिहान बेलुकाको छाक टार्दैआएका सुकुम्बासी गरिबलाई सबै मिलेर सघाउनुपर्ने उहाँको भनाइ छ ।

मजदुरी गरेर ११ जनाको परिवार पाल्दैआएका सदायको झुपडी भत्काउन १८ असार  (शनिबार) दिउँसो प्रहरीसहितको टोली आएको पीडितले बताउनुभयो । इलाका प्रहरी कार्यालय कडरबोनाका प्रमुख प्रहरी निरीक्षक बलस्टर सिंहले अदालतले सहयोगका लागि पत्र पठाएकाले टोली परिचालन गरेको बताउनुभयो ।