रजनी योगी
सुर्खेत, मङ्सिर १० गते । नापी कार्यालय सुर्खेतले आंशिक सेवा सुरु गरेको छ । जेनजी आन्दोलनको क्रममा आगजनीमा परेको कार्यालयले दुई महिनापछि आंशिक सेवा सुरु गरेको हो ।
गत भदौ २४ गते आगजनीमा क्षति भएपछि स्थगित भएको सेवा मंसिर १ गतेदेखि आंशिकरूपमा सुरु गरेको छ । कार्यालय प्रमुख दिनेशकुमार भण्डारीका अनुसार अनलाइनमा भएका कित्ताको नक्सा प्रिन्ट गरी उपलब्ध गराउने (नेलिस प्रणाली) सेवा मात्र सुरु भएको छ ।
पूर्ण रूपमा सेवा सञ्चालनमा ल्याउन अझै केही समय लाग्ने भएकाले आंशिक रूपमा सेवा सुरु गरिएको कार्यालय प्रमुख भण्डारीले जानकारी दिनुभयो । आगजनीबाट पूर्ण रूपमा ध्वस्त भएको कार्यालयमा तत्काल वायरिङ र नेटवर्किङको काम सकिएपछि आंशिक सेवा मात्र सञ्चालन गर्न सकिएको छ ।
पूर्वाधार निर्माण, आवश्यक सामग्री खरिद र पुराना विवरण भएको हार्डडिक्स रिकभर गर्ने काम भइरहेको उहाँले बताउनुभयो । हार्डडिक्स रिकभरका लागि नापी विभागमा पठाइएको छ । यसैगरी आवश्यक कम्प्यूटर लगायतका सामग्री उपलब्ध गराउन स्थानीय तह र विभागलाई पत्राचार गरिएको कार्यालयले जनाएको छ ।
अन्य सेवा सञ्चालन गर्न अझै केही समय लाग्ने जनाइएको छ । बंैकबाट ऋण लिन आवश्यक पर्ने अनलाइनमा उपलब्ध कित्ताको नक्सा प्रिन्ट गरेर दिने सेवा अहिले सञ्चालन गरिएको हो । यद्यपि, सेवाग्राहीलाई आवश्यक पर्ने गाउँ ब्लक, फाइल नक्सा, भूमि आयोगबाट तयार भएको नक्सा र पुनः नापी बमोजिमको नक्सा तथा कित्ताकाट सेवा हाललाई सुचारु गर्न नसकिएको कार्यालयले जनाएको छ ।