• १० मंसिर २०८२, बुधबार

युवाले प्रमुख जिल्ला अधिकारी तथा अस्पतालका प्रमुखलाई बुझाए ज्ञापनपत्र

blog

जेनजी युवा प्रादेशिक अस्पताल जलेश्वरका निमित्त कार्यालय प्रमुख डा.विकास कुमार साहलाई ज्ञापनपत्र बुझाउँदै। तस्बिरः नागेन्द्रकुमार कर्ण

नागेन्द्रकुमार कर्ण

महोत्तरी, मङ्सिर १० गते। महोत्तरी जिल्लाका जेनजी युवाले नागरिक सरोकारका विषयमा प्रमुख जिल्ला अधिकारी तथा प्रादेशिक अस्पताल जलेश्वरका प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन्। 

जेनजीका अगुवाले विभिन्न मागसहितको प्लेकार्ड तथा नाराबाजी गर्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव तथा प्रादेशिक अस्पताल जलेश्वरका निमित्त कार्यालय प्रमुख डा.विकासकुमार साहलाई ज्ञापनपत्र दिएका हुन्। 

जेनजी समूहले प्रादेशिक अस्पताल जलेश्वर तथा जलेश्वर नगरपालिका सम्बद्ध विभिन्न ११ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएका हुन्। 

जेनजी युवाहरुले जलेश्वर नगरपालिकाको फोहोर व्यवस्थापन तथा मणिपाल जग्गा सम्बन्धमा समेत ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएका छन्। 

त्यसैगरी हाटबजार ठेक्कामा पारदर्शिता नभएको, सडकको अवस्था जीर्ण रहेको र जलेश्वर नगरपालिकाले हालै निर्माण सम्पन्न गरेको जलेश्वर कम्प्लेक्समा नगरपालिकाको कार्यालय सार्न लागेको विषय समेत उठान गर्दै त्यस्तो नगर्न चेतावनी समेत दिइएको छ। 

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ज्ञापनपत्र बुझनुहुँदै आफूले प्रादेशिक अस्पताल जलेश्वर तथा जलेश्वर नगरपालिकाको कार्यालयलाई पत्र पठाउने आश्वासन जेनजी युवाहरुलाई दिनुभएको थियो। त्यसैगरी प्रादेशिक अस्पताल जलेश्वरका निमित्त कार्यालय प्रमुख डा.विकास कुमार साहले पनि आफूहरुबाट सम्भव हुने कार्य गर्ने आश्वासन दिनुभएको छ।