काठमाडौँ, मङ्सिर १० गते । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज विराटनगर किङ्स र चितवन राइनोजबिच प्रतिस्पर्धा हुँदैछ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अहिले विराटनगर किङ्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । यस्तै टस हारेको चितवनले ब्याटिङको निम्तो पाएको छ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर लगातार चौथो जित निकाल्ने तयारीमा छ । अपराजित विराटनगर यसअघिका तीन खेल जितेर ६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।
विराटनगर एनपिएलमा अपराजित दोस्रो टोली हो । समान ६ अङ्कसहित सुदूरपश्चिम रोयल्स शीर्षस्थानमा छ । यस्तै कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोज दोस्रो जित निकालेर प्लेअफ यात्रा जिवित राख्न चाहन्छ ।
यसअघि चितवनले दुई खेलमा एक जित र एक हारको नतिजा निकालेको थियो । दुई अङ्कका बनाएको चितवन अहिले तालिकाको पाँचौँ स्थानमा छ ।