• १० मंसिर २०८२, बुधबार

प्रविधियुक्त बन्दै खजुरा प्रहरी कार्यालय

blog

ईलाका प्रहरी कार्यालय धनौली । तस्बिरः गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, मङ्सिर १० गते । बाँकेको ग्रामीण क्षेत्रमा कार्यक्षेत्र रहेको इलाका प्रहरी कार्यालय धनौली खजुराले सेवा प्रवाहमा प्रविधिको उच्चतम प्रयोग गर्न थालेको छ । 

कार्यालयको प्रवेशद्वारमै विभिन्न निवेदनका नमूनाहरु क्यूआर कोडमै टाँस गरिएको छ । ईलाका प्रहरी कार्यालयमा अबदेखि सेवाग्राहीले क्युआर कोडको माध्यमबाट सेवा लिन सक्ने ईलाका प्रहरी कार्यालयका इन्चार्ज एवम प्रहरी निरीक्षक नवीनप्रकाश चापागाईले जानकारी दिनुभयो ।

चापागाईका अनुसार जाहेरी दरखास्त, बालबालिका हराएको, मोटरसाइकल हराएको, ठाडो उजुरी, मानिस हराएको, साइबर अपराध, घरेलु हिँसा, मोबाइल हराएको, दुर्घटना प्रमाणितजस्ता उजुरी गर्दा आवश्यक पर्ने निवेदनको नमुना र आवश्यक कागजातको विवरण क्युआरमा समावेश गरिएपछि मोवाइल प्रयोगकर्ता सेवाग्राहीलाई सहज भएको छ । 

मोवाइल प्रयोग नगर्ने र प्रविधीबारे जानकार नभएका सेवाग्राहीका लागि निःशुल्क निवेदन लेखिदिने र अन्य सेवाका लागि सहायता कक्ष पनि सञ्चालनमा छ ।  सेवाग्राहीको सहजताका लागि स्थानीय बासिन्दाको सुझावको आधारमा प्रविधिको प्रयोग थालिएको प्रहरी निरीक्षक चापागाईले जानकारी दिनुभयो ।

एक महिनाअघि ईलाका प्रहरी कार्यालयमा सरुवा भई आएपछि प्रहरी निरीक्षक चापागाईले स्थानीय अगुवा र जनप्रतिनिधीसँग गरेको अन्तरक्रिया कार्यक्रममा प्राप्त सुझावअनुसार सेवाग्राहीको सहजताका लागि बिभिन्न प्रयासको सुरुवात गरिएको बताउनुभयो । 

प्रहरी निरीक्षक चापागाईले भन्नुभयो, “नागरिकका गुनासा, समस्यालाई छिटो र प्रभावकारी रूपमा सम्बोधन गर्ने प्रयास सुरु गरेका छौं ।” यसबाट नागरिकका गुनासा र  समस्यालाई तत्काल प्रभावकारी रूपमा सम्बोधन गर्न सहज हुने बिश्वास प्रहरीको छ ।