रमेश विश्वकर्मा
गुल्मी, मङ्सिर १० गते । गुल्मीमा १३ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइएको छ । राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत राष्ट्रव्यापी रुपमा वितरण भएको भिटामिन ‘ए’ र जुकाको औषधी यस जिल्लामा १३ हजार १३ जना बालबालिकालाई खुवाइएको हो । स्वास्थ्य कार्यालय गुल्मीमा प्राप्त विवरण अनुसार यस जिल्लाका दुई नगरपालिका र दस गाउँपालिका गरी १२ स्थानीय तहमा सो सङ्ख्यमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइएको छ ।
छ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधी खुवाइएको जनस्वास्थ्य निरीक्षक ताराबहादुर कार्कीले बताउनुभयो । भिटामिन ‘ए’ र जुकाको औषधी लक्षित बालबालिकालाई वितरण गरिएको हो । प्राप्त विवरण अनुसार यस जिल्लामा सबैभन्दा बढी रेसुङ्गा नगरपालिकाका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइएको छ । यहाँ दुई हजार १८३ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइएको छ । सबैभन्दा कम कालीगण्डकी गाउँपालिकामा ६१२ बालबालिकालाई भिटामिन ࡕ‘ए’ र जुकाको औषधी खुवाइएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
मुसिकोट नगरपालिकामा एक हजार ४१२, मदाने गाउँपालिकामा एक हजार ४१, मालिका गाउँपालिकामा ९९८, इस्मा गाउँपालिकामा ९२१, सत्यवती गाउँपालिकामा एक हजार ५८, छत्रकोट गाउँपालिकामा ९३७, गुल्मीदरबार गाउँपालिकामा ८७१, धुर्कोट गाउँपालिकामा एक हजार २३४, चन्द्रकोट गाउँपालिकामा एक हजार ६७ र रुरुक्षेत्र गाउँपालिकामा ८७९ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइएको छ । यसका लागि ९९७ जना स्वास्थ्य स्वयंसेविका जिल्लाका ९३ वटै वडाका टोल–टोलमा पुग्नुभएको थियो ।