भवानीदत्त भट्ट
कञ्चनपुर, मङ्सिर १० गते । महाकाली नदीमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका छन् । जिल्लाकोे भीमदत्त नगरपालिका–१२ ओदालीका २१ वर्षीय रोशन दमाई साथीसँग मङ्गलबार दिउँसो महाकाली नदीमा पौडीन गएका बेला बेपत्ता भएका थिए ।
शरीरमा लुगा नफुकालीकनै पक्की पुल नजिक नुहाउन गएका दमाईं पौडी खेल्ने क्रममा बेपत्ता भएको वडा नम्बर १२ कार्यवाहक वडा अध्यक्ष नरबहादुर साउँदले बताउनुभयो । दल दमाइका तीन छोरामध्ये कान्छा छोरा रोशन रोजगारीका लागि बाह्य मुलुक जाने तयारीमा थिए । तर मङ्गलबार दिउँसो खानाखाएर साथीहरुसँग पौडी खेल्न गएका बेला रोशन बेपत्ता भएको उहाँले बताउनुभयो ।
दमाईंसँगै पौडी खेल्न गएका अर्का युवक भने सकुशल रहेको बताइएको छ । बेपत्ता युवकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले बताउनुभयो ।
खोजीका लागी सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना खटिएको छ । टोलीले बेपत्ता स्थलको ५ सय मिटर वरीवरी खोजी गरिए पनि भेट्टाउन नसकेको प्रनाउ बोहराले बताउनुभयो । महाकाली नदीमा पानीको बहाव अत्यधिक हुने क्षेत्रमा पौडी खेल्न नजान समेत प्रहरीले आग्रह गरेको छ ।