• १० मंसिर २०८२, बुधबार

ठेकेदार कम्पनीको लापरबाहीका कारण पुल निर्माणमा ढिलाइ

blog

बाजुरा र मुगुबिचमा पर्ने कर्णाली नदिको झोगुलामा रहेको निर्माणाधिन पुल । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की
बाजुरा, मङ्सिर १० गते ।
बाजुरा र मुगुलाई जोड्ने झोगुला पक्की पुल निर्माणको काममा ढिलाइ भएको छ । बाजुरादेखि मुगु रारा हुँदै कर्णाली प्रदेशका सबै जिल्ला जोडिने गरी भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय कर्णाली प्रदेश सरकारले कर्णाली नदिको झोगलामा पक्की पुल निर्माणका लागि झण्डै १४ करोड ४९ लाख रकम विनियोजन गरेको थियो ।

बाजुराको हिमाली गाउँपालिका र मुगुको खत्याड गाउँपालिकाको बिचमा पर्ने कर्णाली नदीस्थित झोगुलामा पक्की पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको लापरबाहीका कारण पुल निर्माण कार्यमा ढिलाइ भएको हो ।

२०८१ साल मङ्सिरमा काम सम्पन्न गर्ने गरी २०७९ साल मङ्सिरमा कुशेश्वर कन्ट्रक्सन प्रालिले १४ करोड ४९ लाखमा सो पुल निर्माणका लागि सम्झौता गरेको थियो ।

यहाँ केही वर्ष पहिला झोगुलामा बेलिब्रिज पुल निर्माण गरिएको थियो । अहिले यही पुलदेखि बाजुरा र मुगुमा यातायातका जिप ट्याक्र टक लगायतका सावारी साधन सुचारु हुने गरेका छन् ।

पक्की पुल निर्माणको काम चाँडो भइदिएको भए यहाँ चल्ने सवारी साधनलाई थप सहज हुने स्थानीयवासी बताउछन् ।

२०७८ सालमा सम्झौता भए पनि सरकारले डिजाइन स्टिमेट निर्माण गर्दा निकै ढिलाइ गरेपछि पुल निर्माण कार्यमा ढिला भएको कुशेश्वर कन्ट्रक्सन प्राली काठमाडौँका ठेकेदार जयराज घलेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अरुभन्दा कर्णाली नदीमा पुल निर्माण गर्न निकै गाह्रो छ । बर्खा पानीको बहाव बढ्छ । हिउँदमा आएर पानीको बहाव घट्छ । अर्को यहाँ काम गर्दा केही समान बिग्रियो भने पनि त्यो समान सपारेर यहाँसम्म पुगाउन तीन चार महिना लाग्छ ।”  

अहिले एक वर्षको म्याद पुन थप गरेको छ । आगामी २०८२ सालको चैत भित्र पुल निर्माणको काम सम्पन्न गर्ने गरी यती बेला काम भइरहेको ठेकेदार घलेले बताउनुभयो ।

यो योजना प्रदेश सरकारबाट आएकाले यसको काम कहिले सुरु भएको हो । कहिलेसम्म काम सम्पन्न गर्नु पर्ने हो त्यो सबै कुरा पूर्वाधार विकास कार्यालयलाई मुगुलाई नै थाहा हुने खत्याड गाउँपालिका अध्यक्ष अजबहादुर मल्लले बताउनुभयो ।

यता झुगलामा पक्की पुल निर्माण भएसँगै सुदूरपश्चिमका नौ वटै जिल्लाका स्थानीयलाई बाजुरादेखि रारा जान निकै सहज हुने हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्रबहादुर मल्लले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले यहाँ बेलिब्रिज छ । त्यसैबाट बाजुरादेखि मुगुसम्म स्थानीय आउजाउ गर्ने गरेका छन् ।”

पक्की पुल निर्माणको चाँडो भइदिएको भए यहाँका स्थानीय व्यापारी तथा बाहिरबाट आउने पर्यटकलाई थप निकै सहज हुने अध्यक्ष मल्लले बताउनुभयो ।

सम्झौता भए अनुसार सो कम्पनीले त्यस ठाउँमा एक सय पाँच मिटर लम्बाई पक्की पुल निर्माणका लागि कम्पनीले १४ करोड ४९ लाख रुपियाँमा सम्झौता गरेको छ । 

ठेकेदार कम्पनीले यो सम्झौता गरे अनुसारको काम सम्पन्न नगरेकाले अहिले फेरि म्याद थपेको छ । अहिले एक पील्लरको काम सकेर अर्को बिचको पिल्लरको काम सुरु भएको पूर्वाधार विकास कार्यालय मुगुले जनाएको छ  ।