• १० मंसिर २०८२, बुधबार

उखु किसानले मङ्सिर १४ गते राष्ट्रिय राजमार्ग केन्द्रित आन्दोलन गर्ने

blog

काठमाडौँमा आयोजित पत्रकार सम्मेलन । तस्बिर : पुरुषोत्तम सुवेदी

पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, मङ्सिर १० गते ।
नेपाल उखु उत्पादक महासङ्घले विगत वर्षको बक्यौता अनुदान रकम तत्काल भुक्तानी गर्न र यस वर्षको उखुको समर्थन मूल्य निर्धारण गर्न माग गर्दै राष्ट्रिय राजमार्ग केन्द्रित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छ ।

नेपाल उखु उत्पादक महासङ्घले मङ्गलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी दुई बुँदे  मागसहित मङ्सिर १४ गते आइतबारदेखि सशक्त सडक सङ्घर्षको कार्यक्रम घोषणा गरेको   हो ।

पत्रकार सम्मेलनमा उखु उत्पादक महासङ्घका प्रवक्ता तथा लुम्बिनी प्रदेश अध्यक्ष उमेशचन्द्र यादवले किसानको माग स्पष्ट छ । गत वर्षको बाँकी रहेको प्रति क्विन्टल ३५ को अनुदान तत्काल भुक्तानी र विज्ञ समितिको सिफारिस अनुसार ७१० प्रति क्विन्टल समर्थन मूल्य तत्काल कायम गर्नुपर्ने बताउनुभयो ।

“यदि मङ्सिर १३ गतेसम्म सरकारले किसानका माग सम्बोधन नगरे, मङ्सिर १४ गतेदेखि सम्पूर्ण राष्ट्रिय राजमार्ग केन्द्रित आन्दोलन सर्लाहीबाट सुरु हुनेछ ।

बक्यौता भुक्तानी र मूल्य निर्धारण मुख्य मुद्दा

बाँकी अनुदान रकम भुक्तानीः विगत वर्षमा उखु उत्पादनको बिक्रीपश्चात् नेपाल सरकारबाट प्राप्त हुनुपर्ने प्रति क्विन्टल ७० को अनुदान रकममध्ये ३५ कटौती गरी किसानलाई बाँकी ३५ प्रति क्विन्टलको दरले मात्र भुक्तानी गरिएको महासङ्घको दाबी छ ।
महासङ्घले पटक–पटक सङ्घर्षका कार्यक्रम चलाए पनि सुनुवाइ नभएको भन्दै उक्त बाँकी रकम उपलब्ध गराउनुपर्ने माग गरेको छ ।

नयाँ समर्थन मूल्य कायमः यस वर्षको क्रसिङ सिजन सुरु हुने समय भइसक्दा पनि सरकारले उखुको समर्थन मूल्य निर्धारण नगरेकोमा किसानहरू चिन्तित छन् । महासङ्घले विज्ञ समितिले सिफारिस गरेअनुसार उखुको न्यूनतम समर्थन मूल्य ७१० प्रति क्विन्टल कायम गरी कार्यान्वयन गर्नुपर्ने माग राखेको छ ।