• १० मंसिर २०८२, बुधबार

लोपोन्मुख चिरकालिज जोगाउनै मुस्किल

blog

मुस्ताङको थासाङ गाउँपालिकामा भेटिएको लोपोन्मुख प्रजातिका रूपमा सूचीकृत चिरकालिज । तस्बिर सौजन्यः हरि बस्नेत

हरिकृष्ण शर्मा

मुक्तिनाथ (मुस्ताङ), मङ्सिर १० गते । मुस्ताङको थासाङ गाउँपालिकामा पाइएको लोपोन्मुख प्रजातिको रूपमा सूचीकृत भएको चिरकालिज चोरीशिकार, आहारा, डढेलोले वासस्थानमा परेको जोखिमका कारण जोगाउनै मुस्किल परेको छ । 

नेपालमा एक हजारभन्दा कम सङ्ख्यामा रहेको चिरकालिज पाइने थासाङ गाउँपालिकाको बुङ्गा खर्क, सेकुङ खर्क, ताङ्जे, सार्को खर्क, पुदार खर्क, पाङ्पु खर्क र तिती खर्कमा रहेको स्टेशनमा गरिएको अध्ययनमा कालिज लगायतका पंक्षीलाई पासो थाप्ने, जलवायु परिवर्तनको असर तथा प्रचार–प्रसार र समुदायमा जनचेतनाको अभावका कारण संरक्षणमा चुनौती देखिएको हो । 

नेपाल पंक्षीविद् सङ्घका अनुसन्धान अधिकृत विराट रजकले लामो समयको अनुसन्धानमा चिरकालिजको सङ्ख्या बढेको देखिए पनि चोरीशिकारी, डढेलोका कारण वासस्थानमा गम्भीर असर गरेको बताउनुभयो । 

अनुसन्धान अधिकृत रजकले भन्नुभयो, ‘‘चिरकालिजको सङ्ख्या छरिएको अवस्थामा देखियो, उडेर लामो यात्रा गर्न नसक्ने भएकाले पनि शिकारीको निशानामा पर्न सक्छ, यो हिमालको सुन्दरता हो, जोगाउन अति आवश्यक छ ।’’ जमिनमा हिँड्ने भएकाले जङ्गल क्षेत्रमा हुने मानवसिर्जित गतिविधिका कारण प्रत्यक्ष असर गर्ने अनुसन्धानकर्ता रजकको भनाइ छ । 

अन्नपूर्ण संरक्षण क्षेत्र इलाका कार्यालय जोमसोम अन्तर्गत पर्ने थासाङ क्षेत्रमा बर्सेनि डढेलोका कारण भुइँमै गुँड बनाएर बच्चा कोरल्ने चिरकालिजको गुँड डढेलोले तहसनहस बनाउने, अण्डा र चल्ला र उडेर लामो यात्रा गर्न नसक्ने भएकाले वयस्कसमेत मर्ने अनुसन्धानको क्रममा देखिएको छ । 

थासाङ क्षेत्र छिमेकी जिल्ला म्याग्दी र कास्कीसँग सिमाना जोडिएको पहाडी भूगोल भएकाले समेत मुस्ताङको अन्य पालिकाको तुलनामा डढेलो फैलिने गरेको छ । मुस्ताङमा गरेको अध्ययनको प्रतिवेदनमा चिरकालिज सन् २००४ मा १७, २००६ मा ११ जोडी, सन् २००९ मा ६ जोडी र सन् २०२५ मा १८ जोडी भेटिएको छ । एक्याप क्षेत्र भएकाले बन्दुकको प्रयोग कम गरी लुकिछिपी पासो थाप्ने, डढेलोका कारण फैलिनुपर्ने सङ्ख्यामा कमी नै रहेको अध्ययनले देखाएको छ । 

चिरकालिजको सङ्ख्या बढाउने समय चैत, वैशाख र जेठ महिनामा नै वासस्थान जोगाउन मुस्किल हुने गरेकाले डढेलो र चोरीशिकारी नियन्त्रणमा समुदायको सहयोग महत्वपूर्ण रहेको अनुसन्धानकर्ता रजकको भनाइ छ । 

यो मुस्ताङको पश्चिम क्षेत्रमा मात्र पाइन्छ । हालसम्मको अध्ययनमा मुस्ताङको पाँच स्थानीय तहमध्ये थासाङमा मात्र भेटिएकाले भविस्यमा अन्तर्राष्ट्रिय स्तरबाट समेत चिरकालिजको अनुसन्धानका लागि आकर्षक गन्तव्य बन्ने नेपाली अनुसन्धानकर्ताको भनाइ छ । विश्वभर करिब १० हजारको हाराहारीमा रहेको अनुमान गरिन्छ ।

चिरकालिज बारेमा जानकारी पाएपछि स्थानीय जनप्रतिनिधिले समेत समुदायस्तरमा संरक्षणका कामहरु अगाडि बढाउन सहकार्य गर्ने थासाङ गापा –४ का वडा अध्यक्ष नरेन्द्र शेरचनले बताउनुभयो । वडा अध्यक्ष शेरचनले भन्नुभयो, ‘‘यस क्षेत्रको सुन्दरता भनेकै पंक्षी र वन्यजन्तु हो, हामीले डढेलोबाट वनजङ्गल जोगाउन निरन्तर सचेतनामूलक अभियान सञ्चालन गरिरहेका छौं ।’’ 

वडा अध्यक्ष शेरचनले छिमेकी म्याग्दी जिल्लाबाट फैलिएको डढेलो रोक्न खर्क क्षेत्रमा अग्निरेखासहितका अन्य संरचनाका लागि समेत काम भइरहेको छ । दुर्लभ पंक्षी चिरकालिज पाइने स्थानमा संरक्षणका कार्यक्रमसहित जनचेतनामूलक अभियानलाई प्राथमिकता दिइएको छ । एक्यापमार्फत मुस्ताङका विद्यालयमा सञ्चालित संरक्षण शिक्षा कार्यक्रममा समेत चिरकालिजका बारेमा जानकारी गराउने विद्यालयले जनाएका छन् ।