• १० मंसिर २०८२, बुधबार

‘नागरिकमैत्री सुरक्षा वातावरण निर्माण गर्छौं’

blog

सुरक्षा गोष्ठीलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री चेतनारायण आचार्य ।

बुटवल समाचारदाता

बुटवल, मङ्सिर १० गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा देखिएको सुरक्षा संवेदनशीलतालाई यथार्थ रूपमा पहिचान गर्दै आगामी दिनमा थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री सुरक्षा वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा मङ्गलबार भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले वर्तमान अवस्थाले चुनौती देखाए पनि सुरक्षा निकायको समन्वित प्रयासबाट सकारात्मक मोड लिन सकिने विश्वास व्यक्त गर्नुभयो । 

मुख्यमन्त्री आचार्यका अनुसार केही घटनाले जनतामा त्रास उत्पन्न गरे पनि सुरक्षा संयन्त्रको क्षमता, प्रतिबद्धता र सक्रियतामा पूर्ण विश्वास गर्न सकिने अवस्था छ । उहाँले भन्नुभयो, “नागरिकको मनोबल उच्च राख्नु, सुरक्षाकर्मीलाई आत्मविश्वास दिलाउनु र सुरक्षा संयन्त्रलाई सबै किसिमले सक्षम बनाउनु नै हाम्रो मुख्य प्राथमिकता हो ।” सुरक्षाकर्मीले समेत केही चुनौती महसुस गरिरहेको वास्तविकता स्विकार्दै उहाँले गोष्ठीमार्फत ती कमजोरी पहिचान भई सुधारका स्पष्ट दिशा तय हुने अपेक्षा व्यक्त गर्नुभयो । 

उहाँले १२ जिल्लाका सुरक्षा अवस्थाको गहन समीक्षा गरी प्रदेशको समग्र सुरक्षा संरचना थप मजबुत बनाउने उद्देश्यले गोष्ठी आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार पछिल्ला केही अराजक गतिविधि र आपराधिक समूहको सक्रियता चुनौतीका रूपमा देखिए पनि कानुनी राज्यको सिद्धान्त अनुसार सबैलाई नियन्त्रणमा ल्याउने दिशामा प्रदेश सरकार र सुरक्षा निकाय एकजुट भएर अघि बढिरहेका छन् । 

मुख्यमन्त्री आचार्यले सुरक्षाकर्मी तथा कर्मचारीमाथि चुनौतीपूर्ण गतिविधि देखा परेका घटनाले राज्यलाई सचेत बनाएको र अब यस्ता गतिविधि रोक्न एकीकृत र परिणाममुखी कदम आवश्यक भएको उल्लेख गर्नुभयो । उहाँले फरार कैदी पक्राउ, प्रहरीका लुटिएका हतियार फिर्ता र सुरक्षा सञ्जाल सुदृढीकरण जस्ता मुद्दामा चाँडै ठोस परिणाम आउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले आगामी निर्वाचन सुरक्षित, वातावरणीय रूपमा सहज र जनविश्वास बढाउने तरिकाले सम्पन्न गर्नु सरकार तथा सुरक्षा निकाय दुवैको साझा लक्ष्य भएको बताउनुभयो । मुख्यमन्त्री आचार्यले गोष्ठीमा सहभागी उच्च अधिकारीको उपस्थिति र सक्रियताले प्रदेशमा एकीकृत सुरक्षा अवधारणा कार्यान्वयनका लागि बलियो आधार तयार भएको उल्लेख गर्नुभयो । 

बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दङ्गाल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानलगायत शीर्ष अधिकारीको सहभागिता थियो । सुरक्षा चुनौतीबारे साझा दृष्टिकोण निर्माण भई प्रदेशभर सुरक्षित र स्थिर वातावरण बनाउन बैठक केन्द्रित भएको थियो । 

मुख्यमन्त्री आचार्यले प्रदेशको सुरक्षाव्यवस्थालाई नयाँ विश्वसनीयताका साथ अगाडि बढाइने प्रतिबद्धता जनाउँदै गोष्ठीले आगामी दिनमा स्थायित्व, सुशासन र शान्तिसुरक्षाको नयाँ दिशा तय गर्ने विश्वास व्यक्त गर्नुभयो ।