इमान सिं राना
रामपुर (पाल्पा), मङ्सिर १० गते । पाल्पामा जनकपुरधाम पछि नेपाल मै पहिलो पटक राम–सीता विवाह उत्सव मनाइएको छ । रामपुर नगरपालिकाले विवाह पञ्चमीको अवसरमा धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्न ऐतिहासिक धार्मिक स्थल सीताकुण्डमा उत्सव मनाएको हो ।
रामपुर–५, रामघाट बाट हजारौंको सङ्ख्यामा बरियात (जन्त) लगेर सीताकुण्डमा भगवान राम–सीताको प्रतिकात्मक विवाह गरी उत्सव मनाएको हो । भगवान् राम सीताले वनवासको क्रममा विचरण गरेको भूमि रामपुर नगरपालिकाको रामघाटदेखि जन्तसहित भक्तजनहरु सीताकुण्ड पुगेका थिए । महन्त, बटुक, पण्डित सहितका धार्मिक व्यक्तित्वहरु संगै जनप्रतिनिधिहरु, नेपाली सेना, प्रहरी, विभिन्न विद्यालय, संघ संस्था र समूह पञ्चेबाजा र झाँकीसहितको टोली पवित्र कालीगण्डकी किनारस्थित रामघाटबाट सीताकुण्ड प्रस्थान गरेको थियो । रामघाटमा यज्ञ पश्चात ज्येष्ठ नागरिकबाट आशिर्वाद ग्रहण गरी निस्किएको टोली भगवान रामले कोइला खसालेको धार्मिक मान्यता रहेको भूमि कोइलटारी हुँदै राम चुल्हो रहेको स्थान राम मन्दिर पुगेको थियो ।
राममन्दिरबाट कसार, दही हितको सगुन ग्रहण गरी बेझाँड बजारदेखि रेवतीपोखरा, गाउँपोखरा हुँदै पैदल भएर सीताकुण्ड पुगेको हो । भगवान रामको जन्तको रपमा उपस्थित टोलीलाई विभिन्न स्थानमा टोल विकास संस्थासहित विभिन्न समूहले ठाउँठाउँमा स्वागत गरेको थियो । सीताकुण्ड पुगेको बेहुलासहितको जन्त टोलीलाई सीताकुण्डमा माइती पक्षको तर्फबाट वडा नं. ३ र ४ का जनप्रतिनिधि, स्थानीय र सरोकारवालाहरुले वैवाहिक संस्कारसहित स्वागत तथा सम्मान गरेको थिए ।
नगरप्रमुख रमणबहादुर थापाले भगवान् राम र सीतासँग सम्बन्धित धार्मिक स्थलको उजागर गर्नका लागि उत्सवको आयोजना गरिएकोे बताउनुभयो । स्थानीयसँगै श्रद्धालु भक्तजनहरुको उपस्थितिले ऐतिहासिक धार्मिक स्थलहरुको प्रचारप्रसारमा थप टेवा पुगेको विश्वास व्यक्त गर्नुभयो । अन्तर्राष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष समेत रहनु भएका सांस्कृतिक तथा पर्यटन अभियन्ता सन्दिप रानाले स्कन्दपुराण, आनन्द रामायण र कालीदासको मेघदुतमा समेत सीताकुण्डको बारेमा उल्लेख भएको बताउनुभयो ।
त्रेतायुगमा भगवान् राम वनवासको क्रममा रामपुर पनि बस्नु भएको र सोही आधारमा रामपुर नगर भित्र रामघाट, सीताकुण्ड, राम चुल्हो, राम्चे, राम कुवा लगाएतका ऐतिहासिक धार्मिक स्थलहरु रहेको छन् । धार्मिक ग्रन्थहरुमा उल्लेख भए अनुसार त्रेतायुगमा भगवान राम चन्द्र वनबासको क्रममा रामपुरमा बस्नु भएको भन्ने मान्यताका आधार रामपुरको नामाकरण भएको हो । रामपुरको बारेमा स्कन्दपुराणको हिमवत् खण्डको ४७ र ४८ मा ‘भगवानले रक्षा गरेको उत्तम ठाउँ रामपुर हो । जहाँ राम सधैँ बस्नुहुन्छ । जसको दक्षिण पट्टिको टापुमा अति सुन्दर सीताकुण्ड छ । जहाँ जगतको माता जनकको छोरी सीता बस्नुहुन्छ ।’ भन्ने उल्लेख छ ।
रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले नगरकार्यपालिकाको बैठकले विवाह पञ्चमीलाई आगामी दिनमा पनि निरन्तरता दिने निर्णय गरेको जानकारी दिनुभयो । वडा नं. ५ का वडा अध्यक्ष दुर्गाप्रसाद पोखरेलले १५१ जन्तको साथमा झाँकीसहित विभिन्न संघ संस्था र समूहलाई उपस्थित गराएको बताउनुभयो ।
पण्डित हरिप्रसाद खनालले जनकपुरमा मात्र विवाह पञ्चमी मनाउँदै आए पनि रामपुरमा यस वर्षदेखि सुरु भएको विवाह उत्सवले धार्मिक तथा सांस्कृतिक पक्षको उत्थानमा सहयोग गर्ने विश्वास व्यत्त गर्नुभयो । यज्ञ मण्डपमा राम र सीताको विवाह पश्चात कुशको बेहुला बेहुली बनाइ विवाह संस्कार पूरा गरिएको थियो । त्यस पश्चात धर्मोदय दशावतार बालनको माध्यम बाट लोकनाटक मार्फत रामसीताको विवाह उत्सव प्रदर्शन गरिएको थियो । जन्त टोलीलाई माईती पक्षले दक्षिणासहित बिदाइ गरेका थिए । जन्त टोली रामघाटमा फर्किएर भजनकृतन गरी विधि पूर्वक विवाह उत्सवको समापन गरिएको छ ।