सहदेव बस्नेत
जाजरकोट, मङ्सिर १० गते । जाजरकोटमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाप्रति जनचासो तीव्र रूपमा बढ्दै गएता पनि सरकारले बेवास्ता गरेको पाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटको आयोजनामा सम्पन्न उक्त समीक्षा कार्यक्रममा जिल्लास्थित आयुर्वेद औषधालय, नागरिक आयोग्य केन्द्र र सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटका प्रमुख डा. सुरदर्शन पोखरेलका अनुसार कार्यक्रममा जिल्लामा सञ्चालनमा रहेका सबै आयुर्वेद अस्पताल तथा स्वास्थ्य केन्द्रका प्रतिनिधिहरूको सहभागी भई आआफुले गरेको प्रगतिको प्रस्तुत भएको थियो । सहभागीहरूले गत वर्षभरि सञ्चालन भएका सेवा, चुनौती र आगामी वर्षका प्राथमिकताबारे समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा आफ्नो प्रस्तुती गर्ने आयुर्वेद औषधालय, नागरिक आयोग्य केन्द्र का प्रतिनिधिहरुले तीनै तहका सरकारहरुले आफुहरुलाई बेवास्ता गरेको गुनासो पोखेका थिए । आफुहरुका लागि औषधी, कार्यालय व्यवस्थापन जस्ता आधारभूत कुराको समेत प्रवन्ध नहुँदा बिरामीहरुलाई सेवा दिन कठिनाई रहेको उनिहरुको गुनासो रहेको थियो । बिरामी तथा सेवाग्राहीको आकर्षण बढिरहेको समयसन्दर्भमा राज्यले पनि सेवा प्रवाहका लागि आवस्यक औषधी तथा कार्यक्रममा जोड दिनुपर्ने आयुर्वेद औषधालय नलगाड लहँका प्रमुख प्रभात सुवेदीले आफ्नो अनुभव सुनाउनु भएको थियो ।
त्यस्तै वारेकोट नागरिक आरोग्य केन्दका प्रमुख करिष्मा परियारले आफुहरुले औषधी तथा कार्यक्रमका लागि पालिकामा अनुरोध गर्दा व्यक्तिगत रुपमा मागेको जस्तो व्यवहार हुने गरेको गुनासो राख्नु भएको थियो ।
जाजरकोटमा पछिल्ला वर्षहरूमा आयुर्वेद उपचारप्रतिको आकर्षण उल्लेखनीय रूपमा बढ्दो छ । पत्रकार तथा योग प्रशिक्षक दीपबहादुर घर्तिले जडीबुटीको प्रयोग, योग, प्राकृतिक उपचार पद्धति र जीवनशैली–आधारित आयुर्वेदिक विधिप्रति जनमानसको रुचि बढ्नु स्वास्थ्य सचेतनाको सकारात्मक सङ्केत भएकोे भनाइ राख्नु भएको थियो ।
कार्यक्रममा आयुर्वेदलाई ग्रामीण जनताको पहुँचमा अझै प्रभावकारी रूपमा पुर्याउन संस्थागत समन्वय र स्रोत परिचालन अत्यावश्यक रहेको सवैको सझा भनाइ रहेको थियो ।
जाजरकोटका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेन्द्र शाहीले आयुर्वेद सेवालाई स्थानीय तह र समुदायमा प्रवद्र्धन गर्न प्रशासन सधैं सहयोगी रहेको बताउँदै प्रभावकारी सेवा विस्तारका लागि आवश्यक सुझाव प्रदान गर्नुभएको थियो । समीक्षा कार्यक्रममा आगामी वर्ष आयुर्वेद सेवाको पहुँच विस्तार, जनचेतना अभिवृद्धि र जडीबुटी संरक्षण–प्रशोधनसम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राख्ने जनाइएको छ ।