सुधा देव
भारदह(सप्तरी), मङ्सिर १० गते । अस्पतालको पाँच लाख तिर्न नसक्दा सप्तरीका एक बिरामी अस्पतालबाट घर फर्किन सकेका छैन । राजविराज नगरपालिका ७ का ५४ वर्षीय अनिरूद्ध प्रसाद देवले उपचार खर्च अस्पतालमा तिर्न नसक्दा अस्पतालबाट घर फर्किन नसक्नुभएको हो ।
डेढ महिना अगाडि देवलाई नम्बर नखुलेको सवारीसाधनले तिलाठी कोइलाडी गाउँपालिकामा ठक्कर दिँदा गम्भीर घाइते हुनुभएको थियोे । ठक्कर दिने सवारीसाधन फरार भएको थियो ।
ठक्करबाट टाउकोमा गम्भीर चोट लागेको देवको उपचारका लागि गोल्डेन अस्पताल विराटनगर लगिएको र गोल्डेन अस्पतालमै टाउकोको शल्यक्रिया गरिएको थियो । शल्यक्रियामा पाँच लाख खर्च भइसकेको छ । अस्पतालको विल र औषधी गरी अझै पाँच लाख तिर्न बाँकी भएपछि अस्पतालबाट घर जान नसकेको अनिरूद्धका छोरा रामभजन देवले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘शल्यक्रियापछि बुवाको अवस्था सामान्य भए पनि बाँकी भएको बक्यौता तिर्न नसक्दा घर फर्किन सकेका छैनौं ।’’ बुबाको उपचारमा खर्च भएको बाँकी रहेको बक्यौता तिर्नका लागि सहयोग गरी दिन उहाँले सबै पक्षसँग पक्षसँग आग्रह गर्नुभएको छ ।