• १० मंसिर २०८२, बुधबार

राजविराज कारागारमा मनाइयो विवाहपञ्चमी उत्सव

blog

राजविराजकारागारमा विवाहपञ्चमी उत्सव मनाउँदै कैदीबन्दी । तस्बिर : विनय कर्ण

विनय कर्ण
कल्याणपुर (सप्तरी), मङ्सिर १० गते ।
राजविराजस्थित कारागारमा भगवान राम र माता सीताको विवाहका विभिन्न धार्मिक विधी गरी विवाह पञ्चमी मनाइएको छ । त्रेता युगमा अयोध्याका राजा दशरथका छोरा भगवान राम र जनकपुरका राजा जनकका छोरी सीताको विवाह जनकपुरमा भएको सम्झिदै कारागारका कैदी बन्दीले पनि विवाह पञ्चमी उत्सव मनाएका हुन् ।

राम र सीताको माटोको मूर्ती र तस्बिर राखेर पुजापाठ, भजन किर्तन तथा पापबाट मुक्तिका लागि प्रार्थना गरेको कैदी सत्रुघन मुखियाले बताउनुभयो ।

विवाहपञ्चमी मङ्गलबारका दिन परेकाले कतिपय कैदीबन्दी व्रत समेत बसेको र  हनुमान देउताको पनि पूजापाठ, हनुनमान चालिसा बाचन गरेको जेलर गंगालाल योगीले जानकारी दिनुभयो ।

यसैबिच विवाहपञ्चमीको अवसर पारेर मङ्गलबार बिहानैदेखि कैदीबन्दीले थालेको भजन किर्तन र पूजापाठमा ब्रह्मा कुमारी राजयोग सेवा केन्द्रबाट पुगेको टोली पनि सहभागी भई प्रवचन मार्फत पापबाट मुक्ति तथा सत्यमार्गमा हिँड्न प्रेरित गरेका छन । 

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा सञ्चालित ओमशान्ति मिडियाका प्रभारी दिनानाथ यादवको नेतृत्वमा पुगेको टोलीले कैदीबन्दीहरुलाई सत्यमार्गमा हिँड्न तथा जेलजीवन बिताइ घर फर्केपछि समाजमा गरिने व्यवहार तथा आचरण बारे ज्ञान बाँडेको केन्द्रले जनाएको छ ।

विवाहपञ्चमीको अवसर पारेर जिल्लाको राजविराजस्थित राममन्दिर समितीद्वारा गठित विवाहपञ्चमी उत्सव समारोह तथा पूजा समितिको अगुवाइमा भव्य शोभायात्रा निकालिएको छ । शोभायात्रामा उल्लेख्य सङ्ख्यामा भक्तजनहरुले सहभागिता जनाउनुभयो ।

पूजा समितीका संयोजक सूर्यनारायण यादवले समाजिक सदभाव, सुखःशान्ति तथा एकताको सन्देश दिन शोभायात्रा निकालिएको बताउनुभयो ।  सप्तरीको विभिन्न स्थानमा एक गाउँबाट जन्ती लिएर अर्को गाँउपुगी मिथिला संस्कृती अनुसार राम र सीताको विवाह गराई विवाहपञ्चमी उत्सव मनाउँदै आएका छन् ।