गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर १० गते । होटेल म्यारियटको आयोजना तथा प्रिज्मा स्टेसनरीको सहकार्यमा ४० भन्दा बढी कलाकारका कलाकृतिको प्रदर्शनी गरिएको छ । होटेल म्यारियटको कोशी हलमा आयोजना भएको उक्त प्रदर्शनीका हरेक कलाकृतिले भित्री आत्माको आत्मनिरीक्षण अन्वेषणदेखि कृषि, संस्कृति र विकसित हुँदै गइरहेको नेपाली पहिचानको चित्रण गर्न खोजेको देखिन्छ ।
प्रदर्शनीमा कलाकार किरण मानन्धरले ठट्याउली पारामा कला व्यक्तिगत व्याख्या र भावनामा निहित हुने बताउनुभयो । उहाँले भन्नुभयो, “जब म रङ पाउँछु, म पागल हुन्छ । म पनि मेरो कला बुझ्दिनँ ।’’
क्योहेई डोइडोई अवधारणामा तयार भएको कलाकृतिले प्रदर्शनीलाई जीवन्त बनाउने काम गरेको थियो । ‘अन्डर दी सेम स्काई’ शीर्षक दिइएको उक्त प्रदर्शनीमा कलाकार र दर्शकबिच संवादको पनि आयोजना गपिरएको थियो । उक्त संवादले प्रदर्शनीलाई ‘कला हेर्ने’ भन्दा ‘कला महसुस गर्ने’ बनाएको थियो ।
प्रदर्शनीमा राखिएका कलाकारको क्यानभासमा जग्गा प्लटिङ हुँदै टुक्रिरहेका छन् जसले कृषियोग्य जमिन मासिँदै गएको देखाउँथ्यो भने कसैको कलाकृतिले माटोको शब्द बोल्थ्यो, कसैको कलाकृति पौराणिक गाथाबारे प्रस्ट्याउने काम गरेको थियो । यी कलाकृति केवल कलात्मक मात्र होइनन्, समयका साक्षी पनि हुन् । आममानिसको कथा, संस्कृतिको रूपान्तरण र नेपालीपनको नयाँ रूप कलाकृतिमा झल्किन्थ्यो ।
तीन दिनसम्म चलेको प्रदर्शनीमा वरिष्ठ कलाकार लोकचित्रकार, किरण मानन्धर, समुद्रमानसिंह श्रेष्ठ, मुकेश श्रेष्ठ, सागर मानन्धर, अनिल शाही, सौरगङ्गा दर्शनधारी, कृष्ण लामा, अनमारी तामाङ, भुवन थापा, विद्यमान तामाङ, डिराम पाल्पाली, सुजन डङ्गोल, नवेन्द्र लिम्बू, पूजा रिजाल, सम्झना राजभण्डारी, कृष्णगोपाल श्रेष्ठ, सौगत श्रेष्ठ, सुन्दर लामा, सुशाङ्क श्रेष्ठ, सुमित्रा बराललगायतका कलाकारको सहभागिता रहेको थियो ।