• १० मंसिर २०८२, बुधबार

लालबन्दीमा बेवारिसे पुरुषद्वारा शरीरमा आगो लगाएर आत्मदाहको प्रयास

blog

शरीरमा आफैँले आगो लगाएर आत्मदाहको प्रयास गर्दा जलेर घाइते पुरुषलाई उपचारका लागि लगिँदै । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, मङ्सिर १० गते ।
पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दीमा मङ्गलबार साँझ एक बेवारिसे पुरुषले आत्मदाहको प्रयास गर्नुभएको छ ।

लालबन्दी नगरपालिका–७, स्थित डुमडुमे मन्दिर अगाडिको राजमार्गमा अन्दाजी ५०/५५ वर्षको जस्तो देखिने पुरुषले आत्मदाहको प्रयास गर्नुभएको हो । प्रत्यक्षदर्शीका अनुसार ती पुरुषले पेट्रोल छर्किएर शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गर्नुभएको हो ।

तत्कालै नजिकै रहेका स्थानीयले पानी र शरीरमा बालुवा हालेर आगो निभाएको प्रत्यक्षदर्शी रोशन बोहोराले जानकारी दिनुभयो । आगोले पुरुषको शरीरको अधिकांश बाहिरी भाग जलेको छ ।

आफैँले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गर्दा जलेर घाइते पुरुषलाई लालबन्दी सिटी केयर अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि एम्बुलेन्समार्फत राति ९ बजे नै प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवम् प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते पुरुषको परिचय खुलाउन प्रयास भइरहेको छ ।

आत्मदाहको प्रयास गर्ने व्यक्तिको मोबाइलमा सूर्य पोखरेलको नामबाट रहेको फेसबुक आइडी लग इन रहेको पाइरहेको छ । लालबन्दी नगरपालिका ७ का वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) ले आत्मदाहको प्रयास गर्ने पुरुषलाई पहिलो पटक मङ्गलबार नै देखिएको बताउनुभयो ।