• १० मंसिर २०८२, बुधबार

छुर्पी निर्यात बढ्दा डिडिसीलाई राहत

blog

शशिधर पराजुली 

विराटनगर, मङ्सिर १० गते । कोशी प्रदेशबाट दुग्धजन्य पदार्थ ‘छुर्पी’ (डग च्यु) को निर्यात बढेपछि बजार अभावमा सङ्कट झेलिरहेको सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) लाई राहत मिलेको छ । 

छुर्पीको माग धान्न निजी क्षेत्रको अग्रणी निर्यातकर्ता मनराम हिमालयन ह्यान्डीक्राफ्ट प्रालिले डिडिसीसँग ठुलो परिमाणमा ‘छेना’ (दुध फटाएर बनाइने वस्तु) खरिद गर्न थालेपछि दुवै पक्षलाई लाभ मिलेको हो ।

पछिल्लो समय डिडिसीले बजार गुमाउँदै गएर दुध बिक्री गर्न सकिरहेको थिएन । त्यसै क्रममा मनराम हिमालयनले डिडिसीको विराटनगर आयोजनाबाट मासिक २५ हजार किलो छेना खरिद गरिरहेको छ ।

डिडिसी विराटनगर आयोजनाका निमित्त प्रमुख हिरबहादुर मगरका अनुसार निजी उद्योगले छेना उठाइदिँदा संस्थानलाई ठुलो राहत मिलेको छ । “बजारमा दुध नबिक्दा हामीले पाउडर बनाउनुपर्ने बाध्यता थियो, जसको लागत महँगो पर्छ, उहाँले भन्नुभयो, “अहिले छेना बनाएर सिधै बिक्री गर्न थालेपछि पाउडर प्लान्ट कहिलेकाहीँ मात्र सञ्चालन गरे पुग्ने भएको छ ।”

निजी क्षेत्रको मनराम हिमालयनलाई पनि यसले फाइदा पुगेको छ । कम्पनीका सञ्चालक राजेन्द्रकुमार श्रेष्ठका अनुसार डिडिसीबाट तयारी छेना पाउँदा दुध सङ्कलन गर्ने र त्यसलाई फटाएर छेना बनाउने प्रोसेसिङको झन्झट र खर्च बचत भएको छ । डिडिसी विराटनगरका प्रमुख मगरले छेना बिक्री गर्न पाउँदा आयोजनालाई केही राहत पुगेको बताउनुभयो । 

झापामा मुख्य कार्यालय रहेको मनराम हिमालयन ह्यान्डीक्राफ्टले कोशी प्रदेशबाट ‘डगच्यु’ (कुकुरको आहार) का रूपमा छुर्पी उत्पादन तथा सङ्कलन गरी अमेरिका निर्यात गर्दै आएको छ । सन् २००७ मा नमुनाका रूपमा जम्मा चार किलो छुर्पी अमेरिका पठाएर सुरु भएको यो व्यवसाय अहिले कोशी प्रदेशमै धेरै निर्यात गर्ने उद्योगमध्ये पर्छ । 

दैनिक ६० हजार लिटर दुधको छुर्पी उत्पादन गर्ने क्षमता रहेको यो उद्योगले हाल दैनिक करिब २० हजार लिटर दुध प्रशोधन गरिरहेको छ । माग धान्न कम्पनीले झापामा आफ्नै फार्म हाउससमेत सञ्चालन गरेको छ । जहाँ १६० वटा उन्नत जातका गाई छन् । फार्मबाट दैनिक एक हजार लिटर दुध उत्पादन हुन्छ ।

निजी क्षेत्रले छुर्पी निर्यातमा आक्रामक बजार विस्तार गरेपछि पूर्वी नेपालमा दुध नबिक्ने समस्या (मिल्क होलिडे) लगभग अन्त्य भएको व्यवसायीको दाबी छ । छुर्पी निर्यातले ग्रामीण अर्थतन्त्रलाई टेवा पु¥याएको र किसानले दुधको उचित मूल्य पाएको उद्योगका सञ्चालक श्रेष्ठ बताउनुहुन्छ । 

कृषिजन्य वस्तुको निर्यातमा उल्लेख्य योगदान पु¥याएको भन्दै नेपाल सरकारले गत असारमा मनराम हिमालयन ह्यान्डीक्राफ्टलाई ‘सिआइपी’ (महìवपूर्ण व्यावसायिक व्यक्ति/कम्पनी) को सम्मान प्रदान गरेको थियो । पाँच अर्ब रुपियाँभन्दा बढीको कृषिजन्य वस्तु निर्यात गर्ने र विदेशी मुद्रा आर्जनमा सघाउने कम्पनीको सूचीमा यो उद्योग दरिलो रूपमा उभिएको छ ।