• १२ असार २०८१, बुधबार

ग्रामीण बस्ती ओझेलमा पर्दै

blog

सर्लाही, असार २३ गते  । कुनै समय जिल्लाकै प्रमुख हाटबजार र मानिसको अत्यधिक चहलपहल हुने सर्लाहीका दर्जनौँ ग्रामीण बस्ती अहिले सुनसान देखिन थालेका छन् । जिल्लाको त्रिभुवननगर, हरिपूर्वा, सङ्ग्रामपुर, पिप्राभित्ता, गोडैता, डाबरी, गैर, सोल्टीलगायत पहिलेका मुख्य बजार क्षेत्र हिजोआज ओझेलमा पर्दै गएका छन् । पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा भने बजार विस्तार हुने क्रम तीव्र छ । राजमार्ग क्षेत्रबाहेक अन्यत्र उल्लेख्य रूपमा बजार विकास हुनसकेको छैन । जिल्ला सदरमुकाम रहेको मलङ्गवा बजारमै पहिलेको जस्तो खासै चहलपहल छैन । 

हरिपूर्वा नगरपालिका–५, निवासी ७१ वर्षीय रामपवित्र रायले राजमार्ग क्षेत्रमा चौतर्फी बस्ती विकास हुँदै गए पनि ग्रामीण भेगका पुराना हाटबजार ओझेलमा पर्दै गएको बताउनुभयो । “पहिले त राजमार्ग क्षेत्रका मानिसहरू हाम्रोतिर हाटबजार गर्न आउँथे, अहिले हामी नै बयलवास वा मलङ्गवा तथा राजमार्ग क्षेत्रमा बजार भर्न पुग्नुपर्छ,” रायले भन्नुभयो, “दुई दशकमा यस क्षेत्रको अवस्था निकै फेरिएको छ । धेरै इतिहास र प्रमाण मेटिँदै गएको छ ।”

जिल्लामा पहिलेका प्रसिद्ध बजार क्षेत्र अहिले ग्रामीण बस्तीमा परिणत भइसकेका छन् । हरिपुर नगरपालिकास्थित चितायन निवासी स्थानीयवासी एवम् शिक्षक चेतनारायण धामीले ऐतिहासिक महत्त्व बोकेका धेरै ठाउँहरू ओझेलमा परिसकेको बताउनुभयो । धामी भन्नुहुन्छ, “पहिले–पहिले यहाँ एक महिनासम्म मेला लाग्थ्यो, त्यही मेलामा आएर जिल्लाभर र पहाडी जिल्ला तथा छिमेकी मुलुक भारतबाट समेत आएर वर्षभरी खान पुग्ने खाद्यान्न किनेर लान्थे, अहिले त्यो अवस्था छैन, वर्षमा दुई-चार दिन मात्रै मेला लाग्छ, जिल्ला बाहिरका मान्छे आउनै छाडिसकेका छन् ।” 

लालबन्दी नगरपालिका–७, निवासी रङ्गनाथ पराजुलीले दस वर्षको अन्तरालमा लालबन्दीको अवस्था निकै फेरिएको बताउनुभयो । बजारको विस्तार र सेवा सुविधा सहज भएपछि लालबन्दीमा जिल्लाभरबाट मानिस बसाइँसराइ गरेर आउने क्रम तीव्र भएको पराजुलीले बताउनुभयो । ग्रामीण भेगका हाटबजार ओझेलमा परे पनि यहाँको प्रमुख व्यापारिक केन्द्र लालबन्दी र हरिवन बजारको भने तीव्र रूपमा विकास भइरहेको छ । बजार र बस्ती विकास भएसँगै यहाँ घर जग्गाको कारोबार निकै बढेको छ ।