बेलौरी समाचारदाता
बेलौरी, मङ्सिर ९ गते । कञ्चनपुरमा डेङ्गु सङ्क्रमण बढ्दो क्रममा रहेको छ । पछिल्लो दुई आर्थिक वर्षको तथ्याङ्क अनुसार जिल्लामा डेङ्गु सङक्रमण दर बढ्दो क्रममा रहेको पाइएको छ । डेङ्गु सङ्क्रमणका कारण कञ्चनपुरमा गत आवमा दुई जनाले ज्यान गुमाएका छन् । पछिल्ला चार महिनामा जिल्लामा ८४ जनामा डेङ्गुको सङक्रमण देखा परेको स्वास्थ्य कार्यालयले जनाएको छ । महाकाली प्रादेशिक अस्पतालमा २२ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ भने पुनर्वास नगरपालिकामा ३० जना, भीमदत्त नगरपालिकामा १८ जना, वेदकोटमा चार जना, दोधारा र बेलडाँडीका पाँच/पाँच जनामा सङ्क्रमण देखा परेको छ ।
कार्यालय कञ्चनपुरका अनुसार आव २०८०/८१ मा जिल्लामा २९४ जनामा डेङ्गु सङक्रमण देखा परेको थियो । उक्त आवमा भीमदत्त नगरपालिकामा अत्यधिक १६५ जना, दोधारा चाँदनी नगरपालिकाका ५० जना, बेदकोटका ३६ जना, मन्त्र अस्पतालमा १५ जना, पुनर्वासका १३ जना, बेलौरीका ११ जना, बेलडाँडीका आठ जना, शुक्लाफाँटाका छ जना र कृष्णपुरका पाँच जनामा सङक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य कार्यालयका कीटजन्य स्रोतव्यक्ति सिद्दराज भट्टका अनुसार आव २०८१/८२ मा जिल्लामा थप १६ जनाभन्दा बढीमा डेङ्गु सङक्रमण देखा परेको छ । गत आवमा महाकाली प्रादेशिक अस्पतालमा गरिएको परीक्षणका क्रममा अत्यधिक १६३ जनामा डेङ्गु सङक्रमण पुष्टि भएको थियो । यसै गरी भीमदत्त नगरपालिकाका १५२ जना, दोधारा चाँदनीका ५१ जना, पुनर्वासका २९ जना, शुक्लाफाँटाका १८ जना, बेलडाँडी र कृष्णपुरका १५/१५ जना, बेदकोटका ११ र लालझाँडीका १० जनामा सङक्रमण देखिएको थियो ।
स्वास्थ्य कार्यालयका अनुसार डेङ्गु सङक्रमणका कारण गत आवमा भीमदत्त नगरपालिका र बेलौरी नगरपालिकाका दुई जनाको ज्यानसमेत गएको थियो । डेङ्गुको कुनै खास औषधोपचार र भ्याक्सिन नभएका कारण सङक्रमित लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने महाकाली प्रादेशिक अस्पतालका डाक्टर गिरिश अवस्थी बताउनुहुन्छ ।
‘स्क्रब टाइफस’ का बिरामी थपिँदै
कञ्चनपुरमा पछिल्ला केही वर्षयता ‘स्क्रब टाइफस’ का बिरामी निरन्तर बढेका छन् । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार जिल्लाका विभिन्न पालिकाका अस्पताल र प्रादेशिक अस्पतालमा ‘स्क्रब टाइफस’ का बिरामी बढ्दै गएका हुन् ।
महाकाली प्रादेशिक अस्पतालमा चार महिनाको अवधिमा ३६ जनामा ‘स्क्रब टाइफस’ पुष्टि भएको छ । यसै गरेर गत आर्थिक वर्षमा महाकाली प्रादेशिक अस्पतालमा १६५ जनामा ‘स्क्रब टाइफस’ सङक्रमण पुष्टि भएको थियो । भीमनगर नगरपालिकाका अस्पतालमा ‘स्क्रब टाइफस’ का बिरामी बढ्दै गएको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । आव २०८०/८१ मा भीमदत्त नगरपालिकाका विभिन्न अस्पतालमा १९१ जनामा सङक्रमण पुष्टि भएको थियो भने गत आव २०८१/८२ मा यो सङ्ख्या बढेर ३०८ पुगेको थियो । स्वास्थ्य कार्यालयका कीटजन्य स्रोतव्यक्ति भट्टका अनुसार आव २०८०/८१ मा जिल्लामा ३०६ जनामा ‘स्क्रब टाइफस’ पुष्टि भएको थियो भने गत आवमा ४१५ जनामा ‘स्क्रब टाइफस’ पुष्टि भएको छ । यसै गरी आव २०८०/८१ मा दोधारा चाँदनी नगरपालिकामा २१ जनामा सङक्रमण पुष्टि भएको थियो भने गत आवमा २५ जनामा, कृष्णपुर नगरपालिकामा अघिल्लो आवमा १० जनामा सङक्रमण देखिएको थियो भने गत आवमा दोब्बरले बढेर २० जना पुगेका थिए । यहाँका केही पालिकामा भने ‘स्क्रब टाइफस’ सङक्रमण दर घट्दो क्रममा रहेको छ ।
बेदकोट नगरपालिकामा अघिल्लो आवमा ५२ जना सङक्रमित थिए भने गत आवमा ३४ जनामा सङक्रमण देखा परेको थियो । यसै गरी पुनर्वास नगरपालिकामा अघिल्लो आवमा १२ जनामा सङक्रमण पुष्टि भएको थियो भने गत आवमा एक जनामा मात्रै सङक्रमण देखा परेको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै गरेर बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिकामा पनि ‘स्क्रब टाइफस’ को सङक्रमण दर घट्दो क्रममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्यको हेरचाह र पूर्वसतर्कता अपनाउँदा यहाँका केही स्थानमा यो रोगको सङक्रमण घट्दो क्रममा रहेको बताइएको छ ।