• ९ मंसिर २०८२, मङ्गलबार

आमाछोदिङस्थित चिलिमे तातोपानीमा पुनःस्नान गर्नेको घुइँचो

blog

रसुवा,  मङ्सिर ९ गते ।  यहाँस्थित चिलिमे तातोपानीमा स्नान गर्ने भक्तजनको सङ्ख्या पछिल्लो समयमा पुनः वृद्धि हुन थालेको छ । तातोपानीमा स्नान गरेमा विभिन्न रोगको निदान हुने विश्वास गरिन्छ ।

विसं  २०७२ बैशाख १२  को विनासकारी भूकम्पले आमाछोदिङ्मो गाउँपालिका–५ स्थित तातोपानी कुण्डलाई असर पारेको थियो । कुण्डमा पुनः तातोपानी निस्केपछि स्नान गर्ने भक्तजनको सङ्ख्या वृद्धि हुनथालेको हो । तातोपानी नुहाउनका लागि दैनिक रूपमा सरदर १०–१५ जना  आउने स्थानीयवासी सिङ्गी तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार तातोपानी धारामा स्नान गरेपछि शरीरका रोग निको हुन्छ । 

करिब दुई दशक अगाडि ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रमले सो स्थानमा ढुङ्गेधारा तथा पोखरी निर्माणमा सहयोग गरेको थियो ।  नुवाकोट मेघाङ गाउँपालिका–२ बुङ्ताङ निवासी ६४ वर्षीया लालीमाया तामाङका अनुसार तातोपानी नुहाउँदा आफ्नो शरीरका विविध रोग  निको भएको दाबीसमेत गर्नुभयो ।  विदुर नगरपालिका बट्टार निवासी रामप्रसाद पौडेल र देवकी पौडेलसमेतले शारीरिक रोग निधानका लागि तातोपानी अत्यन्तै उपयोगी भएको बताउनुभयो ।  अन्यत्र जिल्लाबाट समेत सो स्थानमा स्नान गर्न भक्तजन आकर्षित भइराखेका छन् । रासस