• ९ मंसिर २०८२, मङ्गलबार

सप्तरीमा १२ हजार ६५८ जना नयाँ मतदाता थपिए

blog

मतदाता नामावलीमा नाम दर्ता गर्न आउनुभएका सेवाग्राही । तस्बिर : सुधा देव

सुधा देव
भारदह(सप्तरी), मङ्सिर ९ गते ।
सप्तरी जिल्लामा मङ्सिर ५ गतेसम्ममा बाह्र हजार ६५८ जना नयाँ मतदाता थपिएको छ । जिल्ला निर्वाचन कार्यालय सप्तरीको तथ्याङ्क अनुसार १२ हजार ६५८ जना नयाँ मतदाता थपिएकोमा ६ हजार ६५८ पुरूष र ६ हजार महिला रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालयले गत असोज १० गतेदेखि नयाँ मतदाता नामावली दर्ता गर्न सुरू गरेपछि असोजदेखि मङ्सिर ५ गतेसम्ममा ६ हजार ६५८ पुरूष र ६ हजार महिलाले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका सूचना अधिकृत मालती राईले जानकारी दिनुभएको छ ।

फागुन २१ गतेको निर्वाचनलाई लक्षित गरी देशभर मतदाता नामावलीमा नाम दर्ता गर्न सुरू गरेपछि मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेको उत्साह बढेको थियोे । दर्ता गर्ने मिति सकिसकेपनि  दिनहुँ ४/५ जना नाम दर्ताका लागि कार्यालय आउने गरेको निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेश जोशीले बताउनुभो ।

पहिलो चरण असोज १० गतेदेखि असोज मसान्तसम्म र दोस्रो चरण कात्तिक १ देखि मसान्तसम्म दर्ता गर्ने भनिए पनि समय बढाएर मङ्सिर ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्ने मिति तोकिएको थियोे । सप्तरीमा बाहिर जिल्लाका पनि ३५ पुरूष र १४ महिला गरी ४८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

यसअघि जिल्लामा मतदाताको सङ्ख्या चारलाख १८ हजार सात सय ८२ रहेको थियोे । नयाँ मतदाता थपिएपछि अहिले जिल्लाको मतदाता सङ्ख्या चार लाख ३१ हजार चार सय ४० पुगेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।