बोमलाल गिरी
नवलपुर, मङ्सिर ९ गते । नयाँ बनेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटबल सडक खण्डमा दिनहुँजसो सवारी दुर्घटना हुन थालेपछि प्रहरीले तीव्र गति जाँचलाई तीव्रता दिएको छ । सवारी साधनको गति मापन गर्ने यन्त्र ‘राडर गन’ मार्फत जिल्ला ट्राफिक प्रहरी कार्यालयले कावासोतकिो खरकट्टा जङ्गलमा गरेको तीव्र गति अनुगमनमा आइतबार र सोमबार दुईमै ५५ जना चालक कारबाहीमा परेका छन् ।
राडर गनमार्फत ट्राफिक प्रहरीले टाढाबाट आउँदै गरेको सवारी साधनको गति मापन गर्ने गर्छ । सडक विभागले तेकेको मापदण्ड अनुसार गाउँबस्ती र बजार क्षेत्रमा प्रति घण्टा ४० किलोमिटर र जङ्गल क्षेत्रमा प्रति घण्टा ६० किलोमिटरभन्दा बढी गतीमा सवारी चलाउन पाइदैन ।
कारबाहीमा परेकाहरुलाई पाँच सयदेखि १५ सय रुपियाँसम्म जरिवाना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ नायब निरीक्षक विनोदप्रसाद जोशीले जानकारी दिनुभयो । पहिलो पटक कारवाहीमा पर्नेलाई पाँच सय रुपियाँ, दोस्रो पटक कारबाहीमा पर्नेलाई एक हजार तेस्रो पटक पर्नेलाई १५ सय गरी जरिवाना रकम बढ्दै जानेछ । यसरी कारबाहीमा पर्नेहरुले एक घण्टाको क्लास पनि लिनु पर्ने जोशीले बताउनुभयो ।
त्यसैगरी ट्राफिक प्रहरीले सवारी दुर्घटना बढेपछि मादक पदार्थ सेवन (मापसे) र लागू पदार्थ सेवन (लापसे) पनि चेकिङ्ग बढाएको जनाएको छ । अहिले सडक फराकिलो र लेनविहीन भएपछि नवलपुरमा तीव्र गतिका कारण दैनिकजसो सवारी दुर्घटना हुन थालेको छ ।