• ३ असार २०८१, सोमबार

जोकोभिचको कठिन जित

blog

विम्बल्डन, असार २३ गते ।  शीर्ष वरीयताका नोभाक जोकोभिच बुधबार दुई सेटले पछाडि परेर पनि दसौँ वरीयता प्राप्त यानिक सिनरलाई ५–७, २–६, ६–३, ६–२, ६–२ ले हराएर विमबल्डनको सेमिफाइनलमा पुग्नुभएको छ ।विम्बल्डनमा नम्बर एक खेलाडी जोकोभिचको यो लगातार २६औँ जित भएको छ । जोकोभिच लगातार चौथो र कुल सातौँ पटक विम्बल्डन जित्ने दाउमा हुनुहुन्छ । उहाँ २१औँ पटक ग्रान्डस्लाम जित्ने अभियानमा पनि रहनुभएको छ ।

जोकोभिचले सुरुका दुई सेट हारेपछि आफू पुनरागमन जितमा विश्वस्त भएको बताउनुभयो । विम्बल्डनमा ११औँ पटक सेमिफाइनलमा पुगेका जोकोभिचले अन्तिम चारमा बेलायतका नवौँ वरीयता प्राप्त काम नोरीविरुद्ध खेल्नुहुनेछ । विम्बल्डनमा जोकोभिचभन्दा बढी सेमिफाइनलमा रोजर फेडेरर (१३) ले मात्र खेल्नुभएको छ । यसैगरी फेडेरर सर्वाधिक आठ पटक विम्बल्डन जित्ने खेलाडी पनि हुनुहुन्छ ।

जोकोभिचले अब दुई खेल जितेमा फेडेररको सर्वाधिक विम्बल्डन उपाधि जितको कीर्तिमान बारबरी गर्नुहुनेछ । अर्को क्वार्टरफाइनलमा नोरीले बेल्जियमका डेभिड गफिनलाई पाँच सेटमा नै ३–६, ७–५, २–६, ६–३, ७–५ ले नराश बनाउनुभयो । 

महिला एकलमा तेस्रो वरीयताप्राप्त ट्युनिसियाकी ओन्स जाबियर पनि चेक गणतन्त्रका मारि बोकोभालाई ३–६, ६–१, ६–१ ले हराएर अगाडि बढ्नुभयो । अर्को खेलमा टाट्याना मारियाले पनि जुली निमियरलाई ४–६, ६–२, ७–५ ले पराजित गर्नुभयो । नोरी, जाबियर र मारिया पहिलो पटक विम्बल्डनको सेमिफाइनलमा पुग्नुभएको हो । ३४ वर्षीया मारिया पहिलो पटक ग्रान्डस्लामको सेमिफाइनल खेल्ने पाको महिला खेलाडी बन्नुभएको छ । एपी