• ८ मंसिर २०८२, सोमबार

पाल्पामा एक सय १८ मतदानस्थल

blog

जिल्लास्थित निर्वाचन कार्यालय । तस्बिर : रेखीराम राना

रेखीराम राना
तानसेन, मङ्सिर ८ गते ।
पाल्पामा ११८ वटा मतदान स्थल कायम गर्ने निर्णय भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि पनि यसअघिको निर्वाचनमा कायम गरिएको ११८ मतदान स्थललाई कायम गर्ने निर्णय भएको पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले जानकारी दिनुभयो ।

जिल्लास्थित राजनैतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधिलगायतको संयुक्त बैठकबाट निर्वाचन स्थल पुरानै कायम गर्ने निर्णय गरेको हो । मतदान केन्द्रको विषयमा भने निर्णय हुन बाँकी छ ।

अन्तिम मतदाता सङ्ख्या कायम गरेपछि मतदान केन्द्रको विषयमा निर्णय हुने जिल्ला निर्वाचन कार्यालय पाल्पाका नासु विनोद घिमिरेले जानकारी दिनुभयो । यसअघि पाल्पामा २४६ रहेको थियो । मतदाता थप भएका केही मतदान स्थलमा मतदान केन्द्र थप हुने सम्भावना रहेको उहाँले बताउनुभयो । अस्थायी मतदान केन्द्रको बारेमा पनि पछि थप हुने निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । 

राष्ट्रिय परिचयपत्रबाट धेरै मतदाता थपिए
पाल्पामा राष्ट्रिय परिचयपत्रबाट धेरै मतदाताले नाम दर्ता गराएका छन् । कुल ६ हजार ८८७ जना नयाँ मतदातामध्ये चार हजार ३२५ ले राष्ट्रिय परिचयपत्रबाट नाम दर्ता गराएका छन् । गत असोज ११ गतेदेखि मङ्सिर ५ गतेसम्म सञ्चालन भएको मतदाता नामावली सङ्कलन अभियानका क्रममा जिल्लास्थित निर्वाचन कार्यालयमा आएर एक हजार १७ पुरुष र ८१० जना महिला गरी एक हजार ८२७ जनाले नाम दर्ता गराएका छन् । अन्य जिल्लाबाट २५९ पुरुष र ३७६ महिला गरी ६३५ जनाले पाल्पामा ठाउँ सारीका लागि निवेदन दर्ता गराएको निर्वाचन कार्यालयका नासु घिमिरेले जानकारी दिनुभयो ।

पाल्पामा बाहिरी जिल्लाका १२२ जना महिला र ७१ जना पुरुष गरी १९३ जनाले मतदाता नामावली नाम दर्ता गराएका छन् । मतदाता नामावली दर्तापछि अहिले दर्ता भएको मतदाताको विवरणलाई रुजु गर्ने, सच्याउने कार्य भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । सच्याउने र रुजु गर्ने कार्य सकिएपछि निर्वाचनमा मतदान गर्न पाउने मतदाताको सङ्ख्या यकिन हुनेछ ।