• ७ मंसिर २०८२, आइतबार

पालुङटारको चुक्ति खोलामा मोटरेबल पुल निर्माण

blog

गुणबहादुर रोका 

सुलीकोट, मङ्सिर ७ गते । गोरखाको पालुङटार नगरपालिका–९ सेराफाँटको चुक्ती खोलामा चार महिनामा ६० प्रतिशत मोटरेबल पुल निर्माण समपन्न भएको छ । डेढ वर्षमा समपन्न गर्नु पर्ने मोटरबेल पुल निर्माण कम्पनीले द्रुत गतिमा काम अघि बढाएकाले ६० प्रतिशत पुल निर्माणको भौतिक प्रगति सम्पन्न भएको पूर्वाधार कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले जानकारी दिनुभयो।  

गण्डकी प्रदेश अन्र्तगतको पूर्वाधार कार्यालय गोरखाको बजेटबाट चुक्ति खोलाको सेरामा निर्माण भएको मोटरेबल पुल २० मिटर लम्बाइ र ८.४० मिटर चौडाई लामो सिंगल स्पाम आरसिसी प्राविधिको मोटरेबल पुल निर्माण भएको हो । 

निर्माण कम्पनीले अब रहेको ४० प्रतिशत काम स्टिल गर्डर जडान, स्ल्याब ढलान, रेलिङ तथा फिनिसिङका काम आगमी चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाइएको छ । जिल्लामा अमृत निर्माण कन्ट्रक्सन प्रालिले पटकपटक समयमै काम सम्पन्न गरेपश्चा्त मुख्यमन्त्रीबाट सम्मान पनि पाउँदै आएको बताइएको छ । 

पुल निर्माण भएसँगै पालुङटार नगरपालिका-९ मा रहेका स्थानिय बासिन्दा तथा विद्यार्थीहरुलाई १२ महिना सवारीसाधन आवतजावतमा सहज हुने पूर्वाधार कार्यालय गोरखाका साइड इन्जिनियर मोहन श्रेष्ठले जानकारी दिनुभयो । 

उक्त पुल निर्माणका लागि २०८२ असार २२ गते अमृत कन्ट्रक्सन प्रालि गोरखा नगरपालिका–१० छेपेटरसँग ४६ करोड ८० लाख ८ हजार ५६७ रुपियाँमा ठेक्का सम्झौता भएको थियो । पुल निर्माण समपन्न भने २०८३ साल पुस २१ ग्ते सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भए तापनि निर्माण कम्पनीको कुशल व्यवस्थापनले गर्दा ४ महिना मै ६० प्रतिशत भौतिक प्रगति समपन्न गरेको पूृवाधार कार्यालय गोरखाले जनाएको छ । 

चुक्ति खोलामा पुल निर्माण सम्पन्न भएपछि पालुङटार नगरपालिका ६, ९, १०,८ र ७ को व्यापारिक केन्द्र सेराफाँट बन्नुका साथै बर्खाको बेलामा चुक्ति खोला तरेर सयौँ विद्यार्थीहरु काठको फट्केबाट जोखिम मोलेर बिद्यालय जानुपर्ने बाध्यता अन्त्य हुने त्रिबेणी माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेश सेढाईको भनाइ छ । 

करिब २० मिटर लम्बाइ र अत्याधुनिक पिल्लरसहित दुबै साइडका पिल्लर उठाएर र अब बाँकी रहेको कामहरु तीव्र गतिमा अघि बढाएर २०८२ साल चैत महिनासम्म सम्पन्न गरी हस्तान्तरण गरिने निर्माण कम्पनीले जनाएको छ ।