प्रेमराज सिम्खडा
कालीकोट, मङ्सिर ७ गते । एकपछि अर्को गरेर स्थानीय तहमा प्रत्येक वर्ष बेरुजुको दर घट्नुको सट्टा झन बढिरहेको छ । स्थानीय तहमा झन बेरुजुको दर बढ्दै गएको पाइएको हो ।
कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा एक वर्षमा थप दुई करोड छ लाख बेरुजु थपिँदा यहाँको बेरुजु २१ करोड ४५ लाख १६ हजार ६५७ रुपियाँ पुगेको छ ।
रास्कोट नगरपालिकाको अघिल्लो वर्षको बाँकी बेरुजु १९ करोड ३८ लाख ३६हजार थियो । यस वर्ष दुई करोड छ लाख ८० हजार ६५७ रुपियाँ थपिएपछि बेरुजु रकम २१ करोड ४५ लाख १६ हजार ६४७ पुगेको महाँलेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ ।
रास्कोट नगरपालिकाले यस वर्ष असुल उपर गर्नु पर्ने पनि २३ लाख ४४ हजार ८९५ रुपियाँ छ । पेश्की लिएर फर्छौट नगरेको १७ लाख ५१ हजार रहेको छ । रास्कोट नगरपालिकाले नियमित नभएकोमा भने केही सुधार गरेको देखिएको छ ।
यस वर्षमा १४ लाख १३ हजार नियमित नभएको लेख्ख छ । यो गत वर्ष भन्दा सुधार हो । तर बिल भरपाइ नदिएर नै होचुवाको भरमा एक करोड ५१ लाख ७१ हजार ७६२ भुक्तानी दिइएको प्रतिवेदनमा उल्लेख छ । विविधतर्फ खाना, खाजामा ५४ लाख ६५ हजार रुपियाँ खर्च गरेको छ भने सवारीसाधन मर्मतमा एक वर्षमा २८ लाख २० हजार ५७७ र औषधी खरिदमा ३२ लाख ४९ हजार २८३ रुपियाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।
आन्तरिक आयको ६४ प्रतिशतभन्दा बढी विविध खर्च गर्नु स्थानीय सरकार सञ्चालन ऐन २०७४ बिपरित भएको उल्लेख गदै महालेखा परिक्षकको कार्यालयले यसमा मितब्ययीता अपनाउन र ऐन अनुसार चल्न सुझाव दिएको छ । बेरुजुका विषयमा रास्कोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्रजंग शाहीले आफू भर्खरै आएकाले आगामी वर्ष सुधार गदै घटाउँदै जाने यो नगरपालिकाले घटाउँदै जाने बताउनुभयो । बेरुजु घटाउनका लागि समिति बनाउने बताउनुभयो ।