शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बोमलाल गिरी
नवलपुर, मङ्सिर ७ गते । कावासोतीमा सञ्चालन गरिएको दुई दिने निःशुल्क मुटुरोग परीक्षण शिविरमा तीनसय ५० जनाले सेवा लिएका छन् । रोटरी क्लब अफ नवलपुर, कावासोतीको आयोजना तथा मध्यविन्दु प्रादेशिक अस्पतालको प्राविधिक सहयोगमा मुटु रोग परीक्षण गरिएको हो ।
शुक्रबार र शनिवार भएको शिविरमा कावासोती मात्र नभई मध्यविन्दु, देवचुली, विनयी त्रिवेणी र हुप्सेकोटका नागरिकले सेवा लिएका छन् । विशेषज्ञ चिकित्सकको टोलीसहित गाउँमै मुटुरोग परीक्षणको सुविधा उपलब्ध गराइएपछि स्थानीय हर्षित भएका छन् ।
शिविरमा भरतपुर सरकारी अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विशाल श्रेष्ठ, मध्यविन्दु प्रादेशिक अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. धर्मेन्द्र सापकोटा, डा. सरोज पोख्रेल, डा. अमृत पोख्रेल, डा. अरुण रिमाल र डा. आशिक थापासहितका चिकित्सकले सेवा प्रदान गर्नुभएको थियो ।