• ७ मंसिर २०८२, आइतबार

गोरखापत्र संस्थानद्वारा विद्यालयलाई पुस्तक, पत्रपत्रिका सहयोग

blog

गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी दुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण दाहाललाई पुस्तक तथा पत्रपत्रिका हस्तान्तरण गर्नुहुँदै । तस्बिरः मनोजरत्न शाही

गोरखापत्र अनलाइन

शैलुङ (दोलखा), मङ्सिर ७ गते । गोरखापत्र संस्थानले दोलखाको दुर्गा माध्यमिक विद्यालयलाई पुस्तक, पत्रपत्रिका तथा शैक्षिक सामग्री उपलब्ध गराएको छ । दोलखाको शैलुङ–४, मागादेउरालीमा अवस्थित विद्यालयलाई सो सामग्री हस्तान्तरण गरिएको हो । 

गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी तथा गोरखापत्र दैनिकका प्रधान सम्पादक जुनारबाबु बस्नेतले विद्यालयका प्रधानाध्यापक बालकृष्ण दाहाललाई सो सामग्री हस्तान्तरण गर्नुभयो । 

हस्तान्तरण गरिएको पुस्तक सामग्रीमा विभिन्न लेखकका साहित्यिक कृति, गोरखापत्रलाई उपलब्ध भएको विभिन्न विधाका पुस्तक तथा कृतिहरु, गोरखापत्रका प्रकाशनहरु गोरखापत्र, राइजिङ नेपाल, युवामञ्च, मधुपर्क, मुना र अन्य शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । 


कार्यक्रममा संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले विद्यालयसँग गोरखापत्रको सहकार्य सुरु भएको बताउँदै त्यसले सम्बन्ध सुधारमा सहयोग पुग्ने बताउनुभयो । स्थानीय रुपमा सरकारी तवरबाट सञ्चालित विद्यालयको व्यवस्थापन चुस्त रहेको बताउँदै उहाँले संस्थानको तर्फबाट प्रकाशनहरु नियमित उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । विद्यालयसँगको सहकार्यले दुवै संस्थालाई सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

विद्यालयका प्रधानाध्यापक बालकृष्ण दाहालले पुस्तक, पत्रपत्रिका र शैक्षिक सामग्री उपलब्ध गराउनुभएकोमा संस्थानलाई धन्यवाद व्यक्त गर्नुभयो । संस्थानसँगको सहकार्य ऐतिहासिक भएको बताउँदै उहाँले पुस्तक पत्रपत्रिकाले विद्यार्थीको ज्ञान वृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विद्यालयमा संस्कारयुक्त शिक्षा दिने विद्यालयको प्रमुख लक्ष्य भएको बताउँदै उहाँले विद्यालयको पठनपाठनलाई उत्कृष्ट बनाउनमा विद्यालय परिवारले भूमिका निर्वाह गरिरहेको बताउनुभयो । 


समाजसेवी सोवित उप्रेतीले विद्यालयले उत्कृष्ट पठनपाठनको काम गरिरहेकाले आफ्नो ठाउँबाट हुने सहयोग सबैले गर्नुपर्ने बताउनुभयो । गोरखापत्र संस्थान र विद्यालयबिच सुरु भएको सहकार्यले दुवै संस्थालाई फाइदा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

पुस्तक हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक शिवप्रकाश श्रेष्ठले स्वागत गर्नुएको थियो । कार्यक्रममा संस्थानका विभागीय प्रमुखहरु, वरिष्ठ साहित्यकारहरु, पत्रकार तथा विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता थियो ।