• ७ मंसिर २०८२, आइतबार

विपन्नलाई बाख्रा उपहार

blog

बराहताल गाउँपालिका वडा ५ को दलित समुदायमा बाख्रा वितरण गरिँदै ।

रजनी योगी 

सुर्खेत, मङ्सिर ७ गते । पश्चिम सुर्खेतको बराहताल गाउँपालिका वडा ५ को दलित समुदायमा बाख्रा वितरण गरिएको छ । विपन्न परिवारको आर्थिक स्तर वृद्धि गर्न ४५ वटा बाख्रा र एउटा खरी जातको बोका वितरण गरिएको हो । 

जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) कार्यक्रमले बाख्रा वितरण गरेको हो । संस्थाका कार्यक्रम अधिकृत प्रतिभा गैरेका अनुसार प्रत्येक घरलाई २० हजार बराबरको दुई वटा बाख्रा वितरण गरिएको छ । 

दलित विपन्न समुदायको लागि आयआर्जनसँगै बाख्रा पालन तथा रोग व्यवस्थापन सम्बन्धी तालीम दिइएको छ । बराहताल गाउँपालिकाको पशु सेवा शाखाको समन्वयमा तालीम दिइएको हो । (डीसिएको)आर्थिक सहयोगमा सञ्चालित ग्रिन कर्णाली परियोजना अन्तर्गत बाख्रा उपहार कार्यक्रम कार्यान्वयन गर्ने गरिएको गैरेले जानकारी दिनुभयो । गत वर्षमा पनि लक्षित समुदायमा बाख्रा वितरण गर्ने गरिएको थियो ।

गाउँपालिकासँगको सहकार्यमा बाख्रा वितरण गरिएको हो । पालिकाले समेत लक्षित वर्ग विशेष कार्यक्रममा जोड दिएको बराहताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले बताउनुभयो । यो वर्ष पनि आयआर्जनसँग जोडेर लक्षित वर्ग विशेष कार्यक्रम राखिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, "केही पालिकाकाले कार्यक्रम राखेको छ, केही विभिन्न संघ संस्थाको सहकार्यमा कार्यक्रम गर्ने गरेका छौं ।"

जीविको पार्जनका लागि बाख्रा उपहार पाएपछि स्थानीय खुशी भएका छन् । बाख्रा उपहार पाएपछि थप उर्जा मिलेको मनकुमारी मिजारले बताउनुभयो । उहाँका अनुसार यो समुदायमा चरम गरिबीको पीडा छ । "खानलाई त ज्याला मजदुरी गरेर धौं–धौं पुर्‍याउँछाैं," उहाँले भन्नुभयो, "स्कुलमा कसरी पढाउने चिन्ता छ ।" उहाँले आयआर्जनमा जोडिन पाउँदा खुशी लागेको सुनाउनुभयो। सोही बस्तीकी शोभा सार्कीले थोरै भएपनि राहत पुगेको बताउनुभयो । आफूहरु नयाँ बस्ती र आर्थिक अवस्था कमजोर हुँदा जीवनयापन गर्न कठिन परिरहेका बेला (ली–बर्ड) ले थप साहास दिएको उहाँको भनाइ छ ।