रमेश विश्वकर्मा
गुल्मी, मङ्सिर ६ गते । आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभाको निर्वाचनको लागि गुल्मीमा २८ सयभन्दा बढी नयाँ मतदाताले नाम दर्ता गराएका छन् ।
गत असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म गुल्मी जिल्लामा २८ सय २३ जनाले नयाँ मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
जिल्लामा नयाँ मतदाता नामावलीमा नाम दर्ता र अद्यावधिक गर्ने कार्य भएको थियो।
जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी हर्क श्रीसका अनुसार आन्तरिक मतदाता र वाह्य गरी सो सङ्ख्यामा मतदाताको नाम दर्ता भएको हो।
जसमा महिला एक हजार १४३ र पुरुष एक हजार ६०९ जना गरी आन्तरिक मतदाता नयाँ दुई हजार ७५२ जना रहेका छन् । महिला ३१ र पुरुष ४० जना गरी वाह्य मतदाता नयाँ ७१ जनाको नाम दर्ता गरिएको छ ।
यस जिल्लामा मतदान स्थल परिवर्तन गरेका महिला ४७३ र पुरुष ३५७ गरी ८३० जना मतदाता छन् भने महिला ८३ पुरुष १२५ गरी २०८ जना मतदाताको त्रुटि सच्याइएको छ।
फोटोसहितको मतदाता नामावली सङ्कलनको कार्य यस जिल्लामा पनि तिब्र रुपमा भइरहेको थियो। यो कार्य निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा रहेको स्टेसनबाट भएको हो।
नयाँ थपिएका मतदाता अधिकांश युवा पुस्ता छन् नयाँ दर्ता हुनुभएका अधिकांश मतदाताले आफै मोबाइल वा कम्प्युटरबाट फाराम भरेर कार्यालयमा बायोमेट्रिक गरेका थिए ।
त्यसैगरी, राष्ट्रिय परिचयपत्रबाट लिङ्क गरेर मतदाता नामावलीमा चार हजार ४९६ जनाले नयाँ नाम दर्ता गराएको सूचना अधिकारी श्रीसले जानकारी दिनुभयो ।
दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा २०७९ को निर्वाचनमा कुल दुई लाख २४ हजार २७६ मतदाता रहेका थिए । जसमा महिला एक लाख १४ हजार २१५, पुरुष एक लाख १० हजार ५९ र २ जना अन्य मतदाता रहेका थिए ।
यस जिल्लामा २७८ मतदान केन्द्र र दुई अस्थायी मतदान स्थल रहेका निर्वाचन कार्यालय गुल्मीले जनाएको छ।
निर्वाचन आयोगले २०८२ कात्तिक १६ गते उपलब्ध गराएको मतदाताहरूको सङ्ख्यात्मक विवरण यस जिल्लाको दुई नगरपालिका र दस गाउँपालिकामा दुई लाख २३ हजार ८४७ जना रहेको बताइएको छ।