माथि माथि शैलुङ्गेमा चौँरी डुलाउनेलाई
हत्केलामा मायाको गुराँस फुलाउनेलाई
भन्दिनु है भन्दिनु मेरो चुल्ठो खाली छ उनको त्यो मनै जाली छ ।
(शब्द : श्रवण मुकारुङ, सङ्गीत : शिलाबहादुर मोक्तान, स्वर : कुन्ती मोक्तान)
विसं २०४६ मा म्युजिक नेपालमा रेकर्ड भएर रेडियो नेपालबाट गुञ्जिन थालेको प्रस्तुत गीत केही वर्षसम्म ओझेलमै परेथ्यो । गीतकार मुकारुङ यो गीत पनि अघिल्ला गीत जस्तै सरदरमा रहनेमा विश्वस्त थिए । त्यसभन्दाअघि पनि मुकारुङका केही गीत रेकर्ड भएर बज्न थालिसकेका थिए । एकाएक गीतले उचाइ लियो । उनको गीति परिचय पनि यही गीतले माथि उठायो मात्रै होइन, गायिका मोक्तानलाई पनि ‘हिट’ गायिकामा पु-याइदियो ।
गीतकार श्रवणले एक अन्तर्वार्तामा भनेका छन, “यही गीत नै मेरा लागि ‘टर्निङ प्वाइन्ट’ भइदियो ।” राति निद्रा नपरेपछि उठेर चुरोटको बट्टामा गीत लेखेको र बिहान चुरोटको बट्टा गोजीमा हालेर पशुपतिनाथ दर्शन गर्न गएको उनी सम्झिरहेका छन् । संयोगले बाटोमा कुन्ती मोक्तान भेट भएपछि उनले ‘नयाँ गीत लेखेको छैन’ भनेर सोद्धा राति लेखेको त्यही गीत दिएको उनले बताएका छन् । उक्त गीत चर्चित बनेपछि उनीसँग गीत माग्नेको ताँती नै लाग्न थालेको सम्झना सुनाउँछन् ।
गीतमा रहेको महìवपूर्ण शब्द ‘शैलुङ’ भन्नासाथै दोलखा र रामेछाप जिल्लाको सीमामा अवस्थित शैलुङ डाँडामा ध्यान पुग्दछ । खासमा यस्ता शैलुङ विभिन्न जिल्लामा अवस्थित छन् । गीतकार मुकारुङले पनि त्यो बेला यही शैलुङलाई लिएर गीत लेखेका थिएनन् । विसं २०४५ मा भोजपुरबाट काठमाडौँ आएका मुकारुङले त्यो बेला यहाँ पनि ‘शैलुङ’ छ भन्ने सायदै थाहा पाएका थिए होलान् । उनकै गृह जिल्ला भोजपुरमा पनि शैलुङ छ र त्यही शैलुङ क्षेत्रमा गोठालो जाने गरेका मुकारुङले गीतमा शैलुङलाई उतारेका थिए । यो पङ्क्तिकारसँगको कुराकानीमा केही समयअघि उनैले भनेका थिए– “एकाएक गीत हिट भइदियो, सबैले यही शैलुङलाई लिएर लेखेको गीत हो भनिदिए । अब मैले होइन, भोजपुरको शैलुङलाई लिएर लेखेको हुँ भनेर श्रोतामा बसिसकेको छापमा किन आघात पु-याउनु !”
वास्तवमा यो शैलुङमा चौँरीगोठ खास छैनन्, गुराँस त प्रशस्तै छ । भोजपुरको शैलुङमा भने चौँरीगोठ पनि प्रशस्त छन् । गीतमा चर्चित बनेर पनि वास्तविकतामा ओझेलमै रहेको शैलुङ केही वर्षयता निकै चर्चामा आएको छ । स्थानीय तह अधिकार सम्पन्न बनेपछि आफ्नो पालिकामा पर्ने महìवपूर्ण सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमै परिचित गराउने अभियान प्रारम्भ गरिएपछि ओझेलमा परेका स्थल पनि प्रमुख गन्तव्यस्थलका रूपमा स्थापित हुँदै छन् ।
यही व्रmममा शैलुङलाई महìवपूर्ण स्थलका रूपमा चिनाउने उद्देश्यले विसं २०७६ वैशाख १३ देखि १५ गतेसम्म प्रथम शैलुङ महोत्सवको आयोजना गरिएको थियो । शैलुङलाई देशव्यापी रूपमा चिनाउन गीतले दीर्घकालीन प्रभाव पोरेको छ । विसं २०७८ फागुन २०–२१ मा भएको ‘मदन भण्डारी कला–साहित्य प्रतिष्ठान’ द्वारा आयोजित महìवपूर्ण कार्यव्रmमले विशेष भूमिका खेलेको अनुभव हुन्छ । सो कार्यव्रmममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिले शैलुङलाई देशव्यापी रूपमा चिनाउन र प्रकृतिप्रेमीलाई आकर्षित गर्न सफल भएको छ ।
किंवदन्तीमा शैलुङ
समुद्री सतहदेखि ३१४५ मिटरको उचाइमा रहेको महाभारत पर्वत शृङ्खलाको शैलुङले स्थानीयलाई पर्यटकीय दृष्टिले आकर्षित नगरे पनि अनेक किंवदन्तीका कारण आस्था र विश्वासका टाकुरीका रूपमा लिँदै आएका छन् । स्थानीय बासिन्दाले विभिन्न चाडपर्वमा पूजाआजा र मेला उत्सव गर्दै आएको पाइन्छ । हिन्दु, बौद्ध, बोन तथा पछिल्लो समयमा व्रिmस्चियन धर्मावलम्बीको समेत आस्थाको केन्द्र बन्दै आएको छ– शैलुङ । प्रथम बुद्ध भनिने साङ्गे माहमोर्चेले यसै पर्वतमा आएर अनुयायीलाई ज्ञान बाँडेका हुनाले यसलाई ‘साङ्गेलुङ’ भनिएको हो । यसैलाई कालान्तरमा अपभ्रंश हुँदै ‘शैलुङ’ भनिन थालिएको हो भनिन्छ । प्राकृत बोनहरूले ‘सेलयुङ’ भन्दथे र यसलाई आफ्नो धर्मका देवताको प्रतीक मान्दथे । यसको अर्थ दर्शनढुङ्गाको पहाड हो । ‘से’ भनेका देवता र ‘लुङ’ भनेका आगमन अर्थात् देवता आएर विचरण गर्ने स्थललाई ‘शैलुङ’ भनिएको हो ।
ऋषिमुनिको तपोभूमि भएकाले यस वरिपरि अनेक देवीदेवताका प्रतीक तथा मठमन्दिर रहेका छन् । सातौँ शताब्दीमा बौद्धगुरु पद्मसम्भव आएर तप गरेको भनाइ पनि उल्लेख पाइन्छ । यस क्षेत्रमा पद्मसम्भवका पाइला भएको विश्वासमा बौद्धमार्गीले आस्थापूर्वक पूजासमेत गर्दै आएका छन् । यस्ता प्रकारका अनेक किंवदन्तीकै बिच यस क्षेत्र आसपास बसोबास गर्दै आएका तामाङको भने आफ्नै अभिमत पनि छ । ‘सयलुङ’ अर्थात् सय वटा थुम्कालाई बोलीचालीमा ‘शैलुङ’ भनिन थालिएको हो । यस क्षेत्रमा शैलुङ्गेश्वर महादेव, एकदन्ते देवीलगायत पर्वतको रक्षार्थ थुप्रै देवीदेवताले बास गरेको विश्वास गरिन्छ । चैत्य, माने, गोदावरी गुफा, स्वर्णगुफालगायतका सम्पदाले आकर्षण थपेका छन् । काठमाडौँको चम्पादेवीमा रहेकी चम्पादेवी र शैलुङकी एकदन्ते देवी दिदीबहिनी भएको बताउने पनि छन् ।
शैलुङको खास महìव भन्नु नै सय वटा थुम्का हो । मङ्सिरमा खलोमा धान थुपारे जस्ता सानाठुला गरी गन्तीमा सयभन्दा बढी थुम्काले शैलुङको सिङ्गो डाँडोलाई जोकोहीका लागि चित्ताकर्षक बनाइदिएको छ । शैलुङभन्दा सात सय मिटर अग्लो कालिञ्चोकबाट बेग हानिएको डाँफेचरी शैलुङ झरेपछि उचाइका कारण पुनः फर्किएर जान भने नसक्ने भनाइ पनि छ । बेग हानिएर आएको डाँफे बसेको ढुङ्गालाई ‘डाँफेढुङ्गा’ नै नामकरण गरिएको छ ।
यी थुम्का हिउँदमा हिउँ परेर सेताम्मे देखिन्छन् । वर्षामा हरियालीले ढाकिएर झनै आकर्षक लाग्छन् । लगभग ६०डिग्रीको कोणमा थुम्किएकाले जताबाट हेर्दा पनि उस्तै लाग्छन् । यहाँबाट देखिने हिमशृङ्खला नै प्रमुख आकर्षण हुन् । अन्नपूर्ण र माछापुच्छ«े हिमालसमेत छर्लङ्ग देखिन्छ । मनासलु, गणेश हिमाल, लाङटाङ, गौरीशङ्कर, जुगल एवं सगरमाथालगायत महालङ्गुर हिमशृङ्खलाका अन्य हिमालसमेत स्पष्ट देखिन्छन् । घामको पहिलो झुल्को पर्दा टलक्क टल्किने अनेक हिमाल घाम अस्ताउन लाग्दा पनि उसरी नै टल्किरहेका हुन्छन् ।
महाभारत शृङ्खलाको उच्च थुम्कोमा पछिल्लो समयमा समृद्धिको प्रतीक बनेको भ्यु टावर (दर्शनटुप्पो) समेत निर्मित छ । यद्यपि फेदबाट देखिने दृश्य र भ्यु टावरबाट देखिने दृश्यमा कुनै भिन्नता पाइँदैन । यस किसिमको संरचना बनाउनुभन्दा नबनाएरै प्राकृतिक महìवसाथ रहन दिनु श्रेयस्कर देखिन्छ ।
पर्यटकीय गन्तव्य
दोलखाको शैलुङ र मेलुङ गाउँपालिका तथा रामेछापको दोरम्बा–शैलुङ गाउँपालिकाको बिचमा पर्ने शैलुङ क्षेत्रको पर्यटकीय महìवको प्रचारप्रसारमा पालिकाले अभियान नै सञ्चालन गर्दै आएका छन् । कतिपय क्षेत्रको विकासमा पर्यटन नै मूल आधार मानिएका कारण आन्तरिक पर्यटनलाईसमेत विशेष महìव दिन थालिएको छ । रामेछापतर्फको खोलाखर्क र दोलखातर्फको कालापानीलाई शैलुङको आधार शिविर मानिन्छ । विसं २०७६ वैशाख १३–१५ मा पहिलो पटक खोलाखर्कमा शैलुङ महोत्सव आयोजना गरिएको थियो । यस महोत्सवले थोरै भए पनि शैलुङप्रतिको आकर्षण जगाउन सकेको थियो ।
त्यसपछिको महìवपूर्ण महोत्सव मदन भण्डारी कला–साहित्य प्रतिष्ठानको आयोजनामा भएको हो । विसं २०७५ असार २९–३१ मा चन्द्रागिरिमा पहिलो सम्मेलन गरेको प्रतिष्ठानले विसं २०७८ फागुन २०–२१ मा ‘शैलुङ साहित्यिक–सांस्कृतिक महोत्सव’ को आयोजना गरेपछि एकाएक शैलुङ चर्चामा अगाडि आएको हो । महोत्सवको मुख्य आकर्षणका रूपमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो । कालिञ्चोकमा निर्माण गरिएको केबुलकारको समुद्घाटन गरेर दुई वटा हेलिकोप्टरमा ओली दम्पती र नेपाल प्रज्ञा–प्रतिष्ठानका तत्कालीन उपकुलपति जगमान गुरुङलगायतका अतिथि शैलुङको थुम्कोमा अवतरण गरेपछि ठुलो सङ्ख्यामा उपस्थित स्थानीयको उत्साहपूर्ण स्वरले शैलुङलाई जुरुक्कै उचालेको देख्ने यो पङ्क्तिकार पनि साक्षी छ ।
महोत्सवको रौनक
समारोहका प्रमुख अतिथि केपी शर्मा ओलीको धर्म, संस्कृति र ऋषि–महर्षिको तपोभूमि बारेको ओजपूर्ण भाषणले उपस्थित जनसमुदायको ध्यान खिच्न सफल भएथ्यो । त्यसै गरी विद्वान् व्यक्तित्व जगमान गुरुङको हिमवत्खण्डको व्याख्यान, देवभूमि, तपोभूमि र जडीबुटीकेन्द्रित व्याख्यानले कार्यव्रmममा रौनक थपिएको थियो । राजधानीबाट गएका साहित्यकार, संस्कृतिकर्मी, कलाकर्मी, सञ्चारकर्मी एवं कला–साहित्य प्रतिष्ठान सम्बद्ध व्यक्तित्वको उल्लेख्य उपस्थितिले शैलुङ भूमिको देशव्यापी प्रचारप्रसारमा थप मद्दत पु¥याएको अनुभव हुन्छ । स्थानीय वेशभूषा तथा संस्कृति झल्किने नाचगान र झाँकी प्रदर्शनीले शैलुङलाई महोत्सवमय बनाएको थियो । यताबाट गएका साहित्यकार र स्थानीय साहित्यकारले समेत कविता वाचन गर्नुका साथै सांस्कृतिक कार्यव्रmम पनि प्रस्तुत गरेका थिए । विसं २०६३ मा दोलखाको चरीकोटमा राष्ट्रव्यापी साहित्यिक कार्यव्रmम भएथ्यो । सबै तह र तप्काका साहित्यकारको उपस्थिति रहेको सो कार्यव्रmमपछि शैलुङमा आयोजित कार्यव्रmम नै प्रभावकारी मान्न सकिन्छ ।
पूर्वाधार निर्माण
शैलुङ गाउँपालिकाले समग्र शैलुङको विकासका लागि नारा तय गरेको छ–
सर्वत्र वैभव, सभ्यता र स्वाभिमान
जन जनको पौरख, शैलुङको निर्माण ।
यही नाराका साथमा पालिकाले शैलुङ क्षेत्रलाई आफ्नो वैभव मानेर समृद्धिको आधार बनाउने कार्यमा जुटेको छ । विसं २०७५ देखि शैलुङमा ‘मिनी ग्रेटवाल’ निर्माण योजना अघि सारेर निर्माण कार्य भइरहेको छ । कालापानीदेखि डाँफेढुङ्गासम्म ९५० मिटर लामो पर्खाल निर्माण गरिन थालेकोमा अझै पूरा हुन सकेको छैन । यसका साथै विज्ञान पार्क, आध्यात्मिक केन्द्र, साहित्य घर निर्माण योजना पनि अघि सारिएको छ । दोलखाकै समाजसेवी एवं उद्यमी शोभित उप्रेतीले शैलुङमा यस किसिमका संरचना निर्माण गर्न अगुवाइ गर्दै आउनुभएको छ । यहाँ रहेका माने, चैत्य र देवीदेवताका मठमन्दिरप्रति स्थानीयको आकर्षण बढ्दो छ ।
शैलुङमा ठुली एकादशी, जनैपूर्णिमा, बुद्ध जयन्ती, धान्यपूर्णिमामा विशेष किसिमको मेला लाग्ने गरेको छ । धामीझाँव्रmीले शैलुङलाई साधनाको थलोसमेत मान्दै आएका छन् ।
साहित्य सिर्जनाका लागि स्रष्टालाई शान्त तथा मनोरम स्थलले ऊर्जा थप्ने काम गर्दछ । शैलुङ जस्तो प्राकृतिक सुन्दरताले भरिपूर्ण स्थलमा बसेर सिर्जना कर्ममा लाग्ने हो भने पक्कै पनि त्यस्तो सिर्जना कालजयी बन्न सक्छ । उद्यमी एवं समाजसेवी शोभित उप्रेती आफू स्वयं पनि साहित्यकार भएकाले उहाँले शैलुङमा साहित्य घर निर्माण योजना अघि सार्नुभएको छ । योजनालाई मूर्त रूप दिनका लागि यतिबेला उहाँ लागिपर्नुभएको छ । कुराकानीका व्रmममा उप्रेतीले पुस्तकालयसहितको साहित्य घर निर्माणका लागि नक्सा डिजाइनको काम भइरहेको बताउनुभयो । यसै वर्षदेखि निर्माण प्रारम्भ गर्ने गरी आर्थिक स्रोत व्यवस्थापन गर्दै गरेको उहाँको भनाइ छ । उहाँले निजी लगानीमा यो सबै गर्न लाग्नुभएको हो ।
त्यसो त पालिकाले पनि शैलुङमा केही संरचना निर्माण गर्ने योजना बनाएको छ । प्राकृतिक सुन्दर स्थलमा अनेक संरचना निर्माण गर्दा यसले आकर्षण थप्छ कि असर पु¥याउँछ भन्ने सम्बन्धमा चाहिँ संरचना निर्माण गर्नुअघि नै अध्ययन गर्नुपर्ने हुन्छ । निर्माण गरिएको ‘भ्यु टावर’ ले शैलुङको आकर्षणमा कत्ति पनि थप बल नपु¥याएको शैलुङ पुग्ने जोकोहीले अनुभव गर्ने छन् । प्राकृतिक सुन्दरतामा कत्ति पनि आँच नपुग्ने गरी वातावरणीय तथा स्थानिक महìव अध्ययन गरेर मात्र भौतिक संरचना निर्माणतर्फ लाग्नु युक्तिसङ्गत देखिन्छ । शैलुङ प्राकृतिक सुन्दरताले भरिपूर्ण थलो भएकाले यसको प्रचारप्रसारतर्फ ध्यान दिन आवश्यक देखिन्छ ।