‘शैलुङ’ यो शब्द नै प्रेमिल लाग्छ । कथा किंवदन्तीमा होस् या यथार्थ प्रस्तुतिमा होस, सुमधुर गीतमा होस् या भावनामयी कवितामा होस्, यो शब्द अत्यन्तै सहजतापूर्वक स्वीकार्य हुन्छ । त्यसैले यससँग जोडिएका धेरै कथा किंवदन्ती छन् । शैलुङलाई नै मूलभावमा सजाएर गीत बनेका छन्, कविता रचिएका छन, नियात्रा लेखिएका छन् । महाभारत पर्वत शृङ्खलाको सुन्दर गगनचुम्बी टाकुरो हो– शैलुङ । प्राकृतिक र धार्मिक पर्यटनको सङ्गमस्थल हो यो । अवलोकनका लागि सुन्दर अनुपम प्राकृतिक उपहार हो । धार्मिक अनुष्ठानका लागि विश्वास र आस्थाको धरोहर हो । दोलखा जिल्लाको शैलुङ गाउँपालिकाको शिखर रहेको शैलुङ रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकाको शिर सिमाना पनि हो । यो पर्वतीय शिखरलाई शैलुङडाँडा भनेर चिनिन्छ । दोलखाको शैलुङ गाउँपालिका र रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाका नाम यसै डाँडासँग मागिएका हुन् ।
काठमाडौँ रत्नपार्कबाट करिब ११५ किलोमिटर पूर्वतिर दोलखा जिल्लामा अवस्थित यो ठाउँ चिनारीका दृष्टिकोणले शैलुङ दोलखा भनेर परिचित छ । तल काखमा कालापानी छ । शैलुङ घुम्न जाने पर्यटकको बास बस्ने ठाउँ हो यो ।
काठमाडौँबाट भक्तपुर–बनेपा–धुलिखेल–पाँचखाल–दोलालघाट–खाडीचौर–मुडे बजारहुँदै शैलुङ कालापानी पुगिन्छ । कालापानीबाट विस्तारै उकालो बाटो हिँड्दै जाँदा एक घण्टा पनि नलाग्दै यो पर्वत शृङ्खलाको शिखरमा पुगिन्छ ।
तामाङ समुदायको जनघनत्व अधिक भएको शैलुङ गाउँपालिकाको शिर हो– शैलुङडाँडा । शैलुङको नाम त्यसैले तामाङ भाषाको ‘शै’ र ‘लुङ’ बाट बनेको मत पाइन्छ । तामाङ भाषामा शैलुङको अर्थ सय थुम्का हुन्छ । साँच्ची नै सयभन्दा बढी थुम्का भएको यो डाँडाको नाम शैलुङ मिल्दोजुल्दो छ ।
हुन त किंवदन्ती अरू पनि छन् । प्रथम बुद्ध साङ्गे म्हामोर्चेले ज्ञान दिएको यस पवित्र भूमिलाई पहिले साङ्गेलुङ भनिन्थ्यो र पछि हुँदै हुँदै शैलुङ भन्न थालियो । त्यस्तै बोन धर्म अनुसार ‘से’ भनेको देवता र ‘लुङ’ भनेको बोली हो । ‘सेलुङ’ को पूरा अर्थ ‘देवताको बोली’ भन्ने हुन्छ । सेलुङलाई पछि पछि शैलुङ भनियो । अर्को किंवदन्ती अनुसार सयौँ देवीदेवताको तपोभूमिका रूपमा मानिन्छ– यस पर्वतलाई । बौद्ध धर्मगुरु पद्मसम्भवले यसै ठाउँमा पाँच वर्ष तपस्या गरेको भन्ने किंवदन्ती पनि रहेको छ ।
डाँडामा चैत्य, बौद्धगुरु पद्रमसम्भवका पाइला र शैलुङ्गेश्वर महादेवको मन्दिर छन् । बाटामा भीमसेनको तरबार रहेको विश्वासमा स्थापित तीर्थ स्थल छ । त्यसलाई नेवार जातिले आफ्नो महìवपूर्ण तीर्थ स्थलका रूपमा मान्न थालेका छन् । तल जङ्गलभित्र गुप्तेश्वर महादेवको प्रसिद्ध मन्दिर छ । पवित्र त्रिवेणीघाटको चरणावतीधामदेखि शैलुङ–६, फर्पुको भियतनामी ध्यानकेन्द्र ८० कुटी क्षेत्र शैलुङको धार्मिक आकर्षणका केन्द्र बनेका छन् । यस्तो धार्मिक क्षेत्रको सेरोफेरोको शिर शैलुङ नामकरण र धार्मिक दृष्टिकोणले हिन्दु, बौद्ध र बोन धर्मावलम्बीको आस्थाको केन्द्र बनेको छ । यसैले यसलाई अहिले धार्मिक पर्यटनको आकर्षक केन्द्र पनि मानिन्छ । सामाजिक सद्भाव जीवन्त रहेको यस शैलुङ गाउँमा तामाङ, बाहुन, क्षेत्री, दलित, गुरुङ, मगर आदि जातिको बसोबास छ । त्यसैले यहाँ गुम्बा, धाम, मन्दिर, देवालय, गुफा, घाट, पोखरी, वनजङ्गल सवै आस्थाका धरोहरका रूपमा रहेका छन् । तामाङ गोल्मा राजारानीको दरबार पनि यसै ठाउँको काटाकुटीमा थियो । सो दरबार उत्खनन गरिनुपर्ने अवस्थामा रहेको स्थानीय बासिन्दा बताउँछन् । अहिले सो स्थानमा मन्दिर छ । दुलाल थरका पुजारीले नियमित पूजाआजा गर्ने गर्छन् ।
प्राकृतिक सुन्दरताको दृष्टिकोणले त शैलुङ अत्यन्तै अनुपम छ, अत्यन्तै अनमोल छ । हरिया वनजङ्गल, गुराँस, चिमाल र चाप फुल्ने पाखा, आलु र अन्य तरकारी खेतीले ढाकिने बारीका पाटा यो गाउँ क्षेत्रका चिनारी हुन् ।
शैलुङ शिखरलाई गन्तव्य बनाएर जब मान्छे कालापानीबाट उकालो लाग्छ, प्राकृतिक सुन्दरताको रङमा ऊ आफैँ रङ्गीन थाल्छ । चीनको ग्रेटवालको झझल्को दिने शैलुङ ग्रेटवालका सिँढी चढ्दै, फोटो खिच्दै माथितिर उक्लिँदा आनन्दाभूतिको उकालो पनि चढिरहेको हुन्छ मान्छे । अझ अर्को प्राकृतिक बाटोबाट जाँदाको मजालाई नाप्नै सक्दैन मान्छेले ।
मौसम अनुसारको सुन्दरता शैलुङको उत्कृष्ट विशेषता हो । गुराँस, चिमाल र चाप फुल्ने समय, वरिपरि चाँदीमय हिउँचुलीहरू मुस्कुराउने, धरतीमा हिउँले ढपक्कै ढाकिदिने समय र हरियालीले डाँडापाखा, थुम्का छोपिदिने र बेला बेला भुइँकुइरो घुमिरहने शैलुङ भिन्नाभिन्नै समयमा भिन्नाभिन्नै मोहिनी माला लिएर उभिएको हुन्छ । जति जति माथि गयो हिमाल उघ्रदै आउँछन् । आँखै अगाडिसम्म हिउँमा टेक्दै, चिप्लदै, लड्दै, उठ्दै शिखरमा पुग्दासम्ममा अँगालो हालिसक्छन् हिमालहरू सगरमाथा, गौरीशङ्कर, अन्नपूर्ण, मनासलु, गणेश र लामटाङले प्रेमिल मुस्कान छर्दै । दोर्जेलाक्पा, मेलुङ्त्से, नम्बुरलगायतका सबै ६० वटाभन्दा बढी हिमशृङ्खलाले सिङ्गै हिमशृङ्खलाको अपूर्व सौन्दर्यमा झन् मोहकता थपिरहेका हुन्छन् । चाँदीमय चुलीका विशाल लस्करको अवलोकनको अवसर लाग्छ जीवनकै अमूल्य प्राप्ति हो ।
गुराँस, चाप र चिमाल फुल्ने समय त रङ्गीन समय हो शैलुङको । ‘वाह ! रङ्गीन शैलुङ, तनभरि रङ छरेर, मनभरि रङ भरेर’ कविता लेख्छन् यात्रीहरू ।
बर्खाको समयमा हरियाली, भुइँकुइरो र चौँरीसँगको सामीप्य यस ठाउँका उपहार हुन् । शिखरबाट तल हेर्दा यात्रुले ठान्छ ‘म बादलको समुद्रमाथि उभिएको छु ।’ भुइँकुइरोको मजेत्रोले गम्लङ्ग गम्लङ्ग ढाकिदिन्छ सम्झी सम्झी । चौरलाई हरियालीले छोपेको हुन्छ । चौँरी चरिरहेका हुन्छन् चौरमा क्या सुन्दर संसार ! जुनसुकै समयमा पुगे पनि शैलुङ शिखरको पर्यटकीय आकर्षण र रमणीयता अलिकति पनि घटेको पाइन्न । पुग्नेबित्तिकै लाग्छ दौडदै वल्लो छेउदेखिका पल्लो छेउसम्मका थुम्का चढौँ र हेरौँ अझ परसम्म । सुन्दर शैलुङको काखका बासिन्दा र घुमफिर गर्न पुगेका पर्यटक शैलुङको सुन्दरता र आकर्षणको मोहनीमा लट्ठिएका हुन्छन् सधैँ । शैलुङ शिखर समेटिएको शैलुङ गाउँपालिका–८ का वडाध्यक्ष धनबहादुर तामाङ भन्नुहुन्छ, “शैलुङ हाम्रो सान हो । शैलुङ हाम्रो मान हो । साँच्चैभन्दा शैलुङ शिखर हाम्रो जीवन हो । यही शैलुङ शिखरका कारण हामी शैलुङ्गे भएर चिनिन्छौँ । हाम्रामा विकासको गति अगाडि बढ्छ ।”
होटेल व्यवसायी राजन थपलियाको भनाइ यस्तो छ, “शैलुङ हाम्रो मात्र होइन सम्पूर्ण नेपालीको हो । सिङ्गै देशभरका मान्छे शैलुङ घुम्न आउँछन् । अझ यसलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीय क्षेत्र बनाउन सके झनै राम्रो हुने थियो ।”
अर्का होटेल व्यवसायी गोविन्द श्रेष्ठ भन्नुहुन्छ, “शैलुङकै कारणले आउने पाहुनाको सङ्ख्या बढेको छ । शुक्रबार र शनिबार त पहिलै बुकिङ हुनु पर्छ । नत्र खाना र कोठाको अभाव हुन्छ । अरू दिन पनि आगन्तुकहरू आइरहेकै हुन्छन् । सूर्योदय र सूर्यास्त हेर्ने प्रचारप्रसार कम छ । यो कुरा फैलिने हो भने थामी नसक्नु हुन्छ । रोजगारी अझ बढ्छ, व्यापार व्यवसाय अझ फैलिन्छ ।” किसान रामबहादुर थपलियाको विचारमा शैलुङको पर्यटनकै कारण बाटो बनेको हो । बाटोकै कारण किसानका उत्पादनले बजार पुग्न पाएका छन् । मलबिउ प्राप्त गर्न सजिलो भएको छ । चरणावती–शैलुङ पदमार्ग निर्माण परियोजनाको थालनी, वनस्पति विज्ञानको अध्ययन र अनुसन्धानका लागि वनस्पति विज्ञान विभागबाट बोटानिकल गार्डेनको निर्माणको तयारी, प्रदेश सरकारको विज्ञान पार्कको योजना र प्रदेश सरकारकै सिङ्गै शैलुङलाई खुला चलचित्र छायाङ्कन क्षेत्र बनाउने योजनाले सम्पूर्ण शैलुङवासीलाई हर्षित बनाएको छ ।
शैलुङ–८, कालापानीमा ‘हाई अल्टिच्युड अन्तर्राष्ट्रिय तेक्वान्दो कभर्ड हल’ को निर्माण सम्पन्न हुन लागेको अवस्थामा खेलकुद पर्यटनको विकासले शैलुङको मुहारमा अझ उज्यालो थपिने पक्का छ । शैलुङ–६, फर्पुमा सञ्चालित भियतनामी बुद्धिस्टको ध्यानकेन्द्रका ८० कुटी धार्मिक पर्यटनको अर्को केन्द्र बन्ने विश्वास छ शैलुङवासीमा । चरणावतीधाममा ज्येष्ठ नागरिक आश्रम बनिसकेको छ । त्यहाँ एउटा सुविधासम्पन्न चिल्ड्रेन पार्कको अवधारणा पनि आइरहेको बताउँछन् स्थानीयहरू । कालापानीमा सुविधासम्पन्न होटेल बन्ने र सञ्चालन हुने क्रम सुरु भएकोमा पर्यटक खुसी भएको बताउँछन् होटेल व्यवसायी ।
शैलुङ भ्रमण गरिसकेकाको अनुभवमा शैलुङयात्रा ‘शान्ति, मनोरञ्जन र स्वास्थ्यको त्रिवेणी’ जस्तै लाग्ने बताउँछन् । एक वर्षअगाडि शैलुङ भ्रमण गर्नुभएकी पवित्रा सुवेदी भन्नुहुन्छ, “शैलुङ प्राकृतिक सुन्दरताबाट प्राप्त हुने मनोरञ्जन, धार्मिक एवं वातावरणीय परिवेशका कारण प्राप्त हुने शान्ति र प्राकृतिक स्वच्छताका कारण निर्मित स्वास्थ्य वातावरणले यो ठाउँलाई शान्ति, मनोरञ्जन र स्वास्थ्यको त्रिवेणी बनाएको छभन्दा फरक पर्दैन ।” उहाँको चिन्ता पनि छ– फोहोरको व्यवस्थापनमा हेलचेक्रयाइँ र प्राकृतिक स्वरूपको विघटन हुने किसिमका निर्माणबाट हुने खतरा ।
दुई वर्षअघि शैलुङ साहित्य सम्मेलनमा पुग्नुभएकी कवि जयन्ता पोखरेलको धारणामा शैलुङ प्रकृतिले मानिसलाई दिएको अत्यन्तै सुन्दर उपहार हो । उहाँ भन्नुहुन्छ, “जोकोहीलाई पनि आकर्षित गर्ने शैलुङ हाम्रो हिमवत्खण्डको गौरव हो । मैले त त्यहाँ कविता नै लेखेँ शैलुङका बारेमा ।”
शैलुङ एउटा अग्लो पर्वत मात्र होइन यो त प्राकृतिक, धार्मिक र खेलकुद आदि पर्यटनको केन्द्र हो र यो अझ व्यवस्थित केन्द्र बन्दै छ । व्यवस्थित केन्द्र बन्ने व्रmममा यसको प्राकृतिक मौलिकता जीवन्त रहनु पर्छ, गौरव अझ अग्लो बनिनु पर्छ ।