• ८ जेठ २०८१, मङ्गलबार

दुईजनामा ओमिक्रानको नयाँ प्रजाति ‘बीए५’ पुष्टि

blog

काठमाडौं, असार  २२ गते । नेपालमा दुईजनामा ओमिक्रोनको उपप्रजातिका ‘बीए५’ भेरिएन्ट पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको ३२ वटा नमुनको जीन सिक्वेन्सिङ परीक्षण गर्दा दुईजनामा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीए५’ पुष्टि भएको मन्त्रालयको प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिनुभयो ।

बाँकी २८ नमुनामा  बीए प्वाइन्ट टू र दुईजनामा बीए प्वाइन्ट वान देखिएको छ । प्रयोग शालामा हरेक दुई हप्तामा जीन सिक्वेन्सिङ गर्ने गरेको डा. मिश्राले जानकारी दिनुभयो ।

बीए प्वाइन्ट फोर र बीए प्वाइन्ट फाइभ भेरियन्टका दुई नयाँ उपप्रजातिका कारण कोरोनाभाइरस सङ्क्रमण दर विश्वभर पुनः बढिरहेको छ ।

यो भाइरस सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पहिलो पटक भेटिएको थियो । यो भेरियन्ट छिमेकी देश भारतसहित अधिकांश युरोपेली देशहरू, अमेरिका, अस्ट्रेलिया र अफ्रिकामा पुष्टि भएको छ ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले उक्त उपप्रजातिहरूलाई मार्च महिनामा चिन्ताजनक भाइरस भन्दै  निगरानीको सूचीमा राखेको थियो ।

प्रारम्भिक अध्ययनहरूमा कम घातक भनिए पनि छिटो फैलन सक्ने देखिएकाले जोखिम समूहमा रहेका व्यक्तिहरूले सतर्कता अपनाउनुपर्ने विज्ञहरूको सुझाव छ ।

यो भाइरस ओमिक्रोन जस्तै सङ्क्रमण भए पनि यसअघि देखिएका अल्फा र डेल्टा भाइरसजस्ता घातक नहुने चिकित्सक बताउँछन् ।

ओमिक्रानका लक्षणहरु शरीर दुख्ने र असहज हुने, थकान महसुस हुने, टाउको र शरीरका मांसपेशी दुख्ने, शरीर हल्का तातिएको महसुस हुने‚ नाकबाट पानी आउने र बन्द हुने‚ ज्वरो आउने रहेको चिकित्सक बताउँछन् ।

खोप लगाएर जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गरेमा आत्तिइहाल्नुपर्ने अवस्था नरहेको चिकित्सक बताउँछन् ।

नेपालमा कोरोना सङ्क्रमणदर पनि बढ्दै गएको छ । मङ्गलबार आरटी पिसिआर र एन्टिजेन  परीक्षण गर्दा ९० जनामा कोरोना पुष्टि भएको थियो । बुधबार २४ घण्टामा ११३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४७१ पुगेको छ ।