• २९ वैशाख २०८१, शनिबार

चट्याङले विद्युतगृहमा क्षति : ३७६ घरधुरी अन्धकारमा

blog

गलेश्वर, असार २२ गते । पश्चिम म्याग्दीका मालिका गाउँपालिका–४ च्युरीबोटस्थित ३० किलोवाट क्षमताको विद्युतगृहमा चट्याङले ठूलो क्षति पुर्‍याएको छ । सोमबार राति परेको चट्याङले च्युरीबोटस्थित दाजुङखोला लघुजलविद्युतगृहमा क्षति पुर्‍याएको लघुजलविद्युत् सहकारी संस्था लिमिटेडका अध्यक्ष नन्दबहादुर घर्तीमगरले जानकारी दिनुभयो ।

चट्याङले रु. चार लाख ५५ हजार बराबरको क्षति भएको छ । जेनेरेटरमा क्षति भएपछि विद्युत् सेवा अवरुद्ध भएको छ । तीस किलोवाट क्षमताको सो लघुजलविद्युत् परियोजना बन्द हुँदा च्युरीबोट, ओखरबोट, महभिर छाप, खतेनलगायत गाउँका ३७६ घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् ।

बगरफाँटमा बाढी पहिराको त्रास
म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँ बाढी र पहिराको उच्च जोखिममा परेको छ । माथिबाट पहिरो खस्ने र नदीले तीव्र कटान गर्न थालेपछि गाउँ नै जोखिममा परेको हो ।

विसं २०५७ देखि म्याग्दी नदीले बगरफाँटमा कटान गर्दै आएको छ । बगरफाँटमा २१४ परिवारको बसोबास छ । म्याग्दी नदीको कटान नियन्त्रणका लागि बर्सेनि नदी किनारमा ग्याबियन जाली भर्ने गरिए पनि दिगो हुनसकेको छैन । बगरफाँटको १५० रोपनीभन्दा बढी खेतीयोग्य जमिन बाढीले बगाएको छ ।