• २ मंसिर २०८२, मङ्गलबार

ताप्लेजुङमा एक हजार चार सय नयाँ मतदाता थपिए

blog

जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गराइँदै । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर २ गते । हिमाली जिल्ला ताप्लेजुङमा एक हजार चार सय बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका पछिल्लोपटक फोटोसहितको नयाँ मतदाता नामावली दर्ता गर्न थालेपछि उक्त सङ्ख्यामा मतदाता थपिएका हुन् ।

निमित्त जिल्ला निर्वाचन अधिकारी बान्दवराज दुलाल (विपिन) का अनुसार सोमबार सम्ममा ताप्लेजुङमा एक हजार ४६६ जना नयाँ मतदाता थप भएका छन् । थप भएका नयाँ मतदातामध्ये ८०९ जना पुरुष र ६५७ जना महिला रहेका दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघिको निर्वाचनपछि र पछिल्लोपटक मतदाता नामावली दर्ता गर्न सुरु भएयता नयाँ थप भएका समेत जिल्लामा मतदाताको सङ्ख्या कुल ९४ हजार ६९९ पुगेको छ । 

कुल मतदाता सङ्ख्यामध्ये ५० हजार ८८४ पुरुष र ४३ हजार ८१५ जना महिला रहेका दुलालले बताउनुभयो । मतदाता नामावलीमा नाम दर्ता भएकामध्ये मतदान गर्न योग्य मतदाताको विवरण छुटाउन भने बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

निमित्त जिल्ला निर्वाचन अधिकारी दुलालका अनुसार जिल्लामा गत कात्तिक १६ गते सम्ममा मतदाता नामावलीमा नाम दर्ता भएकामध्ये १८ वर्ष पुरा पुगेका अर्थात मतदान गर्न योग्य मतदाताको सङ्ख्या ८९ हजार ४९० रहेको थियो । निर्वाचन आयोगबाट मङ्सिर ५ गतेसम्मका लागि मतदाता नामावली सङ्कलन गर्ने समय थप भएसँगै नामावली दर्ताको क्रम जारी रहेकाले ताप्लेजुङमा अझै मतदाता थपिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकिएपछि गत असोज दोस्रो सातादेखि देशभर मतदाता नामावली दर्ता गर्न सुरु भएको हो । नामावली दर्ता गर्नेमा करिव ९५ प्रतिशत किशोर (जेनजी) उमेर समूहका रहेका निमित्त जिल्ला निर्वाचन अधिकारी दुलालले जानकारी दिनुभयो । जिल्ला निर्वाचन कार्यालयका अनुसार यसअघि प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ताप्लेजुङमा ८२ हजार २८५ जनाले मतदान गरेका थिए ।