• २ मंसिर २०८२, मङ्गलबार

सिद्धबाबामा ‘ज्ञानीसँग हाम्रा नानी’ कार्यक्रम

blog

‘ज्ञानीसँग हाम्रा नानी’ कार्यक्रममा आफ्ना कुरा राख्दै डाक्टर उत्तम पच्या । तस्बर : टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), मङ्सिर २ गते । ‘ज्ञानीसँग हाम्रा नानी’ यो गुल्मीको रेसुङ्गा नगरपालिका–८, सिद्धबाबा माविको रचनात्मक कार्यक्रम हो । यो कार्यक्रम २०७५ साल जेठ २२ गतेबाट सुरु भएको थियो । पहिलो ‘ज्ञानीसँग हाम्रा नानी’ कार्यक्रमको वक्ता तत्कालिन शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीमा प्रमुख उपसचिव थानेश्वर घिमिरे हुनुहुन्थ्यो । यो कार्यक्रम सात वर्षदेखि निरन्तर रूपमा चलिरहेका छ ।

पछिल्लो कार्यक्रम गत कात्तिक २४ गते १४३ औ श्रृङ्खलामा नाष्टका वैज्ञानिक डाक्टर शिव सुवेदी हुनुहुन्थ्यो । यो कार्यक्रममा हरेक वक्ता वा पाहुनाले आफ्नो जीवन सङघर्ष र सफलता विद्यार्थीलाई बताउने गर्दछन् । विद्यालयले पत्र काटेर कार्यक्रमकै लागि कसैलाई आमन्त्रण गर्दैन् । यो कार्यक्रममा निःशुल्क आफ्ना कुरा विद्यार्थीलाई सुनाउने हो । जिल्लामा हरेक सन्दर्भमा आउने व्यक्तित्वहरूको समय व्यावस्थापन गरेर ‘ज्ञानीसँग हाम्रा नानी’ कार्यक्रमसँग जोड्दै आएको सिद्धबाबा माविका प्रध्यानाध्यापक डोर बिक्रम श्रीसले जानकारी दिनुभयो ।

विषयगत विधा हेरेर कर्मचारी, जनप्रतिनिधी, सांसद, वैज्ञानिक, डाक्टर, प्राध्यापक, सुरक्षा तर्फका व्यक्तित्वहरू, वन लगायतका सवै क्षेत्रबाट ‘ज्ञानीसँग हाम्रा नानी’ कार्यक्रममा पाहुनाहरूलाई जोड्ने गरेको श्रीसले बताउनुभयो । उहाँले फरक–फरक क्षेत्रका व्यक्तिहरूसँगको छलफल र उनीहरूको जीवन सङघर्ष सुनेपछि विद्यार्थीले भोलीको भविष्य निर्माणमा ठुलो मार्गनिर्देश हुने भएकाले ‘ज्ञानीसँग हाम्रा नानी’ कार्यक्रमले निरन्तरता पाएको बताउनुभयो । श्रीसले भन्नुभयो, “यो कार्यक्रम सात वर्षसम्म आयो विद्यालयलाई छुट्टै आर्थिक भार केही हुँदैन । जिल्लामा आउने पाहुनाहरूको थुपै समय व्यवस्थापन गर्दा विद्यार्थीलाई राम्रै भएको छ ।”

यो कार्यक्रममा कक्षा ४ देखि १२ सम्मका एक पटकमा सय बढी विद्यार्थीलाई सहभागी गराउने गरिएको छ । कहिलेकाँही विषय हेरेर सोही क्षेत्रका मात्रै विद्यार्थी मात्रै पनि सहभागी हुने गरेको विद्यालयले जनाएको छ । विद्यालयका पूर्व विद्यार्थी निशान टण्डनले आफु धेरै पटक ‘ज्ञानीसँग हाम्रा नानी’ कार्यक्रममा सहभागी भएको बताउँदै पाहुनाहरूको सफलता–असफलताको कथाले विद्यार्थीको जीवनमा ठुलो महत्त्व राख्ने बताउनुभयो । 

२०४३ सालमा सानो झुपडीबाट स्थापना भएको सिद्धबाबा माविले अहिले आफूलाई जिल्लाकै अब्बल बनाउँदै लगेको छ । चार दशकसम्म आउँदा विद्यालयमा साधारण तर्फ कक्षा १ देखि १२ सम्मै कम्प्युटर, अंग्रेजी माध्यम, विज्ञान, योग शिक्षा र तालिम तथा कक्षा १२ तर्फ शिक्षा, व्यावस्थापन, कानुन र कम्प्युटर इन्जिनियरिङका कक्षाहरू सञ्चालन गर्दै आएको छ ।