• १३ साउन २०८१, आइतबार

पदाधिकारी छान्ने जिम्मा प्रचण्डलाई

blog

काठमाडौँ, असार २२ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी चयनको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको छ । तथापि चयन सहमतिमा गरिने माओवादी केन्द्रका नेताहरूले बताउनुभएको छ । 

मङ्गलबार खुमलटारमा बसेको पूर्वस्थायी समितिको बैठकले सहमतिका आधारमा पदाधिकारी चयन गर्ने सहमति गरेको थियो । मङ्गलबार बस्नुपर्ने केन्द्रीय समितिको बैठक त्यसैका लागि स्थगित गरिएको थियो । बुधबार १ बजे सुरु हुने कन्द्रीय समितिको बैठकमा अध्यक्षले पदाधिकारी, पोलिटब्युरो र स्थायी समितिको नामावली प्रस्ताव गर्नुहुनेछ । 

बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारी, स्थायी र पोलिटब्युरो सदस्य चयनका विषयमा नेताहरूसँग धारणा माग्नुभएको थियो । सहभागी नेताहरूले आ–आफ्नो दाबीसहित धारणा राखेको पूर्वस्थायी समिति सदस्य हरिबोल गजुरेलले जानकारी दिनुभयो । साथै, मङ्गलबार दिनभर पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो सदस्य चयन गर्ने अन्तिम गृहकार्य भएको उहाँको भनाइ छ । 

नेता गजुरेलले भन्नुभयो, “पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरोको अन्तिम नामावली प्रस्ताव गर्न बैठकले अध्यक्षलाई जिम्मेवारी दिएको छ । अध्यक्षले बुधबारको बैठकमा नामावली प्रस्ताव गर्नुहुनेछ ।” पदाधिकारीमा दाबी गर्नेको सङ्ख्या धेरै भए पनि चुनावमा जानुपर्ने माग उठेपछि नेतृत्वले सहमतिमा पदाधिकारी चयन गर्ने भएको हो । बुधबार पदाधिकारी, स्थायी र पोलिटब्युरो सदस्यको चयन हुने उहाँले जानकारी दिनुभयो । 

वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र मातृका यादवले बैठकमै दाबी गर्नुभएको छ । जनार्दन शर्मा र वर्षमान पुनले महासचिवको दाबी गर्नुभएको छ । माओवादीमा एक वरिष्ठसहित छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष गरी १५ जनाको पदाधिकारी रहने व्यवस्था छ ।

गत पुस १८ गते सम्पन्न आठौँ महाधिवेशनले २४६ केन्द्रीय सदस्य चयन गरेको थियो । पछि पूर्वस्थायी समितिले सदस्यहरू थप गरेको छ । हालसम्म ३७३ सदस्यीय केन्द्रीय समिति निर्माण भएको छ । ८६ जनालाई वैकल्पिक केन्द्रीय सदस्यमा प्रस्ताव भएको छ । केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने व्यवस्था छ । 


Author

लक्ष्मण दर्नाल