काठमाडौं, असार २२ गते । चिरपरिचित प्रतिद्वन्द्वी टाइम्सको चुनौतिलाई पन्छ्याउँदै रोयलले यू–२३ पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा मंगलबार भएको फाइनल खेलमा रोयलले टाइम्सलाई ६६–५७ अंकले हरायो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा रोयलले पहिल क्वार्टरमा २३–१८ को स्कोरबाट अग्रता लिएको थियो । दोस्रो क्वार्टरमा पनि रोयले अग्रतालाई कायम राखेको थियो । दोस्रो क्वार्टरमा २२–१६ अग्रता लिएको रोयलले तेस्रो क्वार्टर भने ८–१० ले पछि परेको थियो । अन्तिम तथा निर्णायक क्वार्टरमा समान १३–१३ स्कोर गरेपनि रोयलले समग्रमा ६६–५७ को जित निकाल्यो । रोयलका निकेस मगरले सर्वाधिक २२ स्कोर गर्नुभयो ।
च्याम्पियन रोयले एक लाख रुपियाँ पुरस्कार पायो । उपविजेता टायम्सले ५० हजार रुपियाँ पायो । ७१औं मदन जयन्तीको अवसरमा भण्डारी स्पोर्ट्स एकेडेमी अन्तर्गत केन्द्रीय बास्केटबल विभागद्वारा आयोजित प्रतियोगितामा १० टिमले भाग लिएका थिए । विजेतालाई एकेडेमीका अध्यक्ष धु्रब आचार्य लगायतले पुरस्कार प्रदान गर्नुभयो ।