- भर्चुअल बैङ्क पूर्णतया इजाजतपत्र प्राप्त वित्तीय संस्था हो, जुन आफ्नो भौतिक शाखाको उपस्थितिबिना विशेष रूपमा अनलाइनमार्फत सञ्चालित हुन्छ ।
- पछिल्लो समयमा भर्चुअल बैङ्क र नियो बैङ्क जस्ता आधुनिक डिजिटल बैङ्कको माग विश्वव्यापी रूपमा बढिरहेको छ ।
- निकट भविष्यमा भर्चुअल बैङ्क र नियो बैङ्क स्थापना गरी व्यवस्थित रूपमा सञ्चालनमा ल्याउन सकिने अभूतपूर्व अवसर रहेको अनुमान लगाउन सकिन्छ ।
- डिजिटल वित्तीय साक्षरता बढाउन विद्यालय स्तरका पाठ्यक्रममै डिजिटल वित्तसम्बन्धी विषय समावेश गरिनु पर्छ र समुदायस्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम एवं अभियान सञ्चालन गरिनु पर्छ ।
बिसौँ शताब्दीमा बैङ्क तथा वित्तीय संस्थाले आफ्नो आन्तरिक सञ्चालन व्यवस्थापन र ग्राहक सेवाका कार्यमा विद्युतीय प्रणालीको प्रयोग गर्न थालेदेखि विश्वमा आधुनिक डिजिटल बैङ्किङको विकासको सुरुवात भएको मान्न सकिन्छ । विशेष गरी स्मार्टफोन, इन्टरनेट, क्लाउड कम्प्युटिङ र नवीनतम वित्तीय प्रविधिको उदयसँगै नयाँ पुस्ताका बैङ्कले आफूलाई पूर्णतया अनलाइनमार्फत सञ्चालित हुन सक्ने तुल्याएका छन् ।
प्रविधिको तीव्र विकास र डिजिटल प्लेटफर्मको व्यापक प्रयोगले गर्दा विश्वको बैङ्किङ परिदृश्यमा नै गहन रूपान्तरण आएको देख्न सकिन्छ । यस किसिमको रूपान्तरणको ज्वलन्त उदाहरणका रूपमा पछिल्ला वर्षमा उदाएका भर्चुअल बैङ्क र नियो बैङ्कलाई लिन सकिन्छ । यी बैङ्किङ मोडेलले निकट भविष्यमा बैङ्कको भौतिक उपस्थितिलाई कम मात्रै गराउने छैनन्, ग्राहकलाई अत्याधुनिक प्रविधिमा आधारित वित्तीय सेवाहरू प्रदान गर्ने छन् ।
भर्चुअल बैङ्क र नियो बैङ्क डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्ने बैङ्किङ मोडेल हुन्, जसले वित्तीय सेवाको पहुँच विस्तार गर्न मात्रै नभई ग्राहकलाई सहज एवं न्यून लागतमा वित्तीय सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्छन् । यद्यपि तिनीहरूका संस्थागत संरचना, इजाजतपत्र दिने व्यवस्था र नियामकीय ढाँचाले तिनीहरूको प्रभावकारिताको मापन हुने छ । अतः बैङ्कमा कार्यरत कर्मचारी, नीतिनिर्माता तथा सरोकारवाला, जसले डिजिटल वित्तीय भविष्य देखिरहनुभएको छ उहाँहरूले भर्चुअल बैङ्क र नियो बैङ्कका बारेमा आधारभूत ज्ञान हासिल गर्नु अति जरुरी भइसकेको छ ।
भर्चुअल बैङ्क पूर्णतया इजाजतपत्र प्राप्त वित्तीय संस्था हो, जुन आफ्नो भौतिक शाखाको उपस्थितिबिना विशेष रूपमा अनलाइनमार्फत सञ्चालित हुन्छ । यस किसिमको बैङ्कले ग्राहकलाई अनलाइनमार्फत निक्षेप, कर्जा, रेमिट्यान्स र भुक्तानी प्रणालीसम्बन्धी सेवा प्रदान गर्छ । बैङ्किङ लाइसेन्स प्राप्त हुने भएकाले भर्चुअल बैङ्कलाई परम्परागत बैङ्कलाई जस्तै गरी नियमन गर्ने गरिन्छ । नियामकको नजरमा भर्चुअल बैङ्क पूर्ण रूपमा आफ्नै स्वतन्त्र अस्तित्वमा सञ्चालित बैङ्क हो । यसर्थ भर्चुअल बैङ्कले प्रचलित बैङ्किङ नियम कानुन र नियामकीय व्यवस्थाको पूर्ण पालना गर्नु पर्छ । यसले प्रदान गर्ने सेवा, यसको सञ्चालन र नियमनमा आधारित हुँदा यसको दायरा फराकिलो छ । सरल भाषामा बुझ्न हामीले प्रयोग गर्ने इजाजतपत्र प्राप्त बैङ्कको मोबाइल बैङ्किङ एप्लिकेसनलाई भर्चुअल बैङ्क एउटा उदाहरणका रूपमा लिन सक्छौँ । यद्यपि मोबाइल बैङ्किङ एप्लिकेसन पनि भौतिक शाखाको उपस्थिति भएका परम्परागत शैलीका बैङ्कद्वारा सञ्चालित डिजिटल बैङ्किङ सेवा हो ।
अर्कोतर्फ नियो बैङ्क भन्नाले आफ्नै छुट्टै बैङ्किङ लाइसेन्सबिना डिजिटल वित्तीय सेवाहरू प्रदान गर्ने संस्था हो, जसले लाइसेन्स प्राप्त परम्परागत बैङ्कसँगको सहकार्यमा मोबाइल एप्लिकेसन वा अनलाइन प्लेटफर्ममार्फत सीमित बैङ्किङ सेवाहरू उपलब्ध गराउँछ । नियो बैङ्कले उन्नत प्रविधि एवं नवीनतम वित्तीय उपायको प्रयोगमार्फत ग्राहक तथा सेवाग्राहीको बैङ्किङ अनुभवमा सुधार ल्याउन विशेष जोड दिन्छ । तुलनात्मक रूपमा भर्चुअल बैङ्कभन्दा यसको दायरा साँघुरो छ । यसको अवधारणा बुझ्नका लागि उदाहरणका रूपमा हामीले प्रयोग गर्दै आइरहेका डिजिटल वालेटलाई पनि लिन सक्छौँ । यद्यपि नेपालमा प्रयोग भइरहेका डिजिटल वालेटले डिजिटल रूपमा सिमित वित्तीय सेवा मात्र उपलब्ध गराउँछन् र खातामा रकम बचत गरेबापत आकर्षक ब्याज दिनेलगायतका सुविधा भने दिन सकिरहेका छैनन् ।
परम्परागत बैङ्कसँगको अन्तर
भर्चुअल बैङ्क र नियो बैङ्क परम्परागत बैङ्कभन्दा निकै फरक छन् । यिनीहरू भौतिक शाखाको उपस्थितिबिना सञ्चालित हुने आधुनिक बैङ्क हुन् । परम्परागत बैङ्कले अफलाइन र अनलाइन दुवै माध्यममा सेवा उपलब्ध गराउँछन् तर यी आधुनिक बैङ्कले अनलाइन सेवा मात्रै उपलब्ध गराउँछन् । परम्परागत बैङ्कमा मानवीय तवरले कागजी अभिलेख राखिन्छ भने यी बैङ्कमा कागजरहित डिजिटल अभिलेख राखिन्छ । त्यसै गरी परम्परागत बैङ्कमा कर्मचारीको आवश्यकता र सञ्चालन लागत उच्च हुनुका साथै सेवा प्रवाह पनि तुलनात्मक रूपमा सुस्त हुन्छ यस विपरीत आधुनिक बैङ्कमा कर्मचारीको आवश्यकता र सञ्चालन लागत न्यून हुनुका साथै सेवा प्रवाह पनि छिटोछरितो हुन्छ । परम्परागत बैङ्कहरूले व्यक्तिगत आवश्यकता अनुसारका विभिन्न किसिमका कर्जा, लकर सुविधालगायतका थुप्रै किसिमका बैङ्किङ सेवा सुविधा उपलब्ध गराउँदै ग्राहकसँग प्रत्यक्ष अन्तरसंवाद गर्न सक्छन् तर आधुनिक बैङ्कले प्रदान गर्ने सेवा सुविधा सीमित हुन्छन् र यिनीहरूले ग्राहकसँग डिजिटल अन्तर्क्रिया मात्रै गर्न सक्छन् । सीमित क्षेत्र वा मुलुकमा मात्रै पहुँच हुने परम्परागत बैङ्कको केन्द्रीय बैङ्कद्वारा कडा नियमन गरिन्छ भने अर्कोतर्फ इन्टरनेटको माध्यमबाट विश्वव्यापी पहुँच हुने आधुनिक डिजिटल बैङ्कको नियमन गर्न तुलनात्मक रूपमा जटिल हुन्छ । साथै डिजिटल साक्षरता कम भएका र व्यक्तिगत आवश्यकता अनुसारको सेवा लिन इच्छुक ग्राहकको रोजाइमा परम्परागत बैङ्क पर्छन्, जबकि प्रविधिमा निपुण र सहजताको खोजी गर्ने ग्राहकको रोजाइमा आधुनिक बैङ्क पर्छन् ।
विश्वव्यापी अभ्यास र नेपालको प्रयास
पछिल्लो समयमा भर्चुअल बैङ्क र नियो बैङ्क जस्ता आधुनिक डिजिटल बैङ्कको माग विश्वव्यापी रूपमा बढिरहेको छ । विशेष गरी जेन वाई र जेन जेड युवा पुस्तामा यस किसिमका आधुनिक बैङ्कको लोकप्रियता बढ्दो छ । युरोप र अमेरिकाबाट स्थापना हुन सुरु भएका डिजिटल बैङ्क अहिले विश्वभर फैलिँदै गइरहेका छन् । उदाहरणका लागि बेलायतमा स्थापित रिभल्ट बैङ्क सुरुमा नियो बैङ्कका रूपमा स्थापित भए पनि पछिल्लो समयमा उसले बैङ्किङ लाइसेन्स लिँदै भर्चुअल बैङ्कको रूपमा विकसित भएको छ । बेलायतकै स्टारलिङ र मोन्जो बैङ्क पूर्ण रूपमा डिजिटल बैङ्कका रूपमा सञ्चालित छन् । त्यसै गरी जर्मनीको एनट्वान्टिसिक्स बैङ्क युरोपमै उदाहरणीय भर्चुअल बैङ्क हो, जसले जर्मन बैङ्किङ लाइसेन्स प्राप्त गरेको छ । उता अमेरिकामा ‘चाइम’ र ‘भारो बैङ्क’ हरूले बजारमा आफ्नो प्रभाव तीव्र रूपमा बढाउँदै लगेका छन् । हाम्रै छिमेकी मुलुक भारतमा पनि रेजरपेएक्स जस्ता नियो बैङ्कले लाइसेन्स प्राप्त अन्य बैङ्कसँगको सहकार्यमा नवीनतम, साना तथा मझौला व्यवसाय (एसएमई) र युवा लक्षित डिजिटल बैङ्किङ सेवा दिइरहेका छन् ।
नेपाल सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा नियो बैङ्क स्थापना गर्ने घोषणा गरिसकेको छ । उक्त कदममा साथ दिन नेपाल राष्ट्र बैङ्कले पनि आफ्नो मौद्रिक नीतिमार्फत नीतिगत एवं नियामकीय व्यवस्था गर्ने पहल थालिसकेको छ । आव २०८२/८३ को मौद्रिक नीतिले पारम्परिक बैङ्किङ पूर्वाधारका केही चरणलाई छोट्याउँदै नियो बैङ्क अर्थात् पूर्ण रूपमा डिजिटल बैङ्क सञ्चालनमा ल्याउने योजना घोषणा गरेको छ । यस माध्यमबाट परम्परागत बैङ्किङ अभ्यासलाई प्रत्यक्ष रूपमा डिजिटल वित्तीय प्रणालीतर्फ रूपान्तरण गर्ने उद्देश्य राखिएको छ । यस रूपान्तरणलाई सहज बनाउनका लागि नेपाल राष्ट्र बैङ्कले राष्ट्रिय परिचयपत्रसँग आबद्ध एक केन्द्रीय ग्राहक पहिचान प्रणाली विकास गरिरहेको छ, जस अन्तर्गत एक पटक मात्र विवरण अद्यावधिक गर्दा त्यो सबै बैङ्कमा साझा रूपमा लागु गर्न सकिने छ ।
अर्कोतर्फ डिजिटल वालेट सञ्चालन गरिरहेका कम्पनीलाई थप मजबुत बनाउँदै डिजिटल भुक्तानी सेवालाई थप सुरक्षित, भरपर्दो र प्रभावकारी बनाउन भुक्तानी सेवा प्रदायक कम्पनीहरूको मर्जर र प्राप्तिका लागि पनि राष्ट्र बैङ्कले पहल थालिसकेको छ । फलस्वरूप केही महिनाअघि मात्र ‘खल्ती’ र ‘आइएमइपे’ दुई भुक्तानी सेवा प्रदायक एक आपसमा गाभिएका थिए । यसबाहेक डिजिटल बैङ्कको विकासमा महत्वपूर्ण मानिएको केन्द्रीय बैङ्क डिजिटल मुद्रा ‘सिबिडिसी’ निकट भविष्यमा जारी गर्न नेपाल राष्ट्र बैङ्कले आवश्यक गृहकार्य गरिरहेको छ ।
अवसर, चुनौती र अबको बाटो
नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार गत असार मसान्तसम्म नेपालमा मोबाइल बैङ्किङका प्रयोगकर्ता सङ्ख्या दुई करोड ७७ लाखभन्दा बढी रहेको र डिजिटल वालेटका प्रयोगकर्ताको सङ्ख्या दुई करोड ६७ लाखभन्दा बढी रहेको छ । यसरी मोबाइल बैङ्किङ र डिजिटल वालेटका प्रयोगकर्ताको सङ्ख्या उच्च हुनुले नेपालमा डिजिटल बैङ्किङप्रति ग्राहकको आकर्षण बढ्दै गइरहेको सङ्केत गर्छ । साथै निकट भविष्यमा भर्चुअल बैङ्क र नियो बैङ्क स्थापना गरी व्यवस्थित रूपमा सञ्चालनमा ल्याउन सकिने अभूतपूर्व अवसर रहेको अनुमान लगाउन सकिन्छ । यसो भन्दै गर्दा न्यून डिजिटल वित्तीय साक्षरता दर, कमजोर सूचना प्रविधि पूर्वाधार र साइबर अपराधको उच्च जोखिम, स्पष्ट नीतिगत एवं कानुनी व्यवस्थाको अभाव, विभिन्न निकायबिच पर्याप्त समन्वयको अभाव जस्ता चुनौती भने यथावत् नै छन् ।
नेपालको सुन्दर डिजिटल भविष्य निर्माण गर्न उपरोक्त चुनौतीलाई चिर्दै अगाडि बढ्नु पर्छ । डिजिटल वित्तीय साक्षरता बढाउन विद्यालय स्तरका पाठ्यक्रममै डिजिटल वित्तसम्बन्धी विषय समावेश गरिनु पर्छ र समुदायस्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम एवं अभियान सञ्चालन गरिनु पर्छ । मुलुकभर नै गुणस्तरीय सूचना प्रविधि पूर्वाधारको सुनिश्चितताको लागि विशेष पहल गर्नुका साथै बढ्दो साइबर अपराधको जोखिम न्यूनीकरण गर्न डिजिटल सुरक्षाका उपायका सम्बन्धमा योजनाबद्ध ढङ्गले कार्य गर्नु पर्छ । भर्चुअल बैङ्क र नियो बैङ्क स्थापनाका लागि आवश्यक न्यूनतम पुँजी, पूर्वाधार र जनशक्ति, तिनीहरूको सञ्चालन व्यवस्थापन र नियमन आदि विषय स्पष्ट हुने गरी नीतिनिर्माण तथा कानुनी प्रबन्ध गरिनु पर्छ । साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सूचना प्रविधिको क्षेत्रमा कार्य गर्ने निकाय, प्रशासन तथा सुरक्षा निकाय, बैङ्क तथा वित्तीय क्षेत्रमा कार्यरत निकायका बिचमा आवश्यक सम्पर्क, समन्वय र सहकार्य पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
समग्रमा नेपाल सरकार, नेपाल राष्ट्र बैङ्क, बैङ्क तथा वित्तीय क्षेत्रका लगानीकर्ता, सूचना प्रविधिको क्षेत्रमा कार्य गर्ने कम्पनीलगायत डिजिटल बैङ्किङका सरोकारवालाको अग्रणी भूमिका तथा आमसर्वसाधारणको विश्वास र समर्थनका साथ नेपालमा निकट भविष्यमा भर्चुअल र नियो बैङ्क स्थापनाका लागि वातावरण तयार गरी वित्तीय एवं डिजिटल समावेशीकरणमार्फत नेपालको डिजिटल क्रान्तिलाई सार्थक तुल्याउने दिशातर्फ उन्मुख हुनु नै अहिलेको आवश्यकता हो ।