• २७ कात्तिक २०८२, बिहिबार

धार्मिक तथा सांस्कृतिक पर्यटनको हब बन्दै गैँडाकोट

blog

गैँडाकोटको मौलाकालिका मन्दिरमा आरती गर्दै भक्तजन ।

नारायणगढ समाचारदाता 

नारायणगढ, कात्तिक २७ गते । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका धार्मिक तथा सांस्कृतिक पर्यटनको हबका रूपमा विकास हुँदै गएको छ । यहाँ रहेका मन्दिर, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा र नारायणी नदी किनार धार्मिक तथा सांस्कृतिक पर्यटकीय हबका रूपमा विकास हुँदै गएका हुन् । 

गैँडाकोट नगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लाम्गादे गैँडाकोटमा सबैभन्दा बढी मौलाकालिका मन्दिरमै धार्मिक पर्यटकको चाप बढेको बताउनुहुन्छ । “मौलाकालिका मन्दिर गैँडाकोटको धार्मिक धरोहर हो । अहिले यहाँ आउने पर्यटकमध्ये अधिकांश मौलाकालिका नै पुग्ने गर्छन्,” उहाँले भन्नुभयो । 

मौलाकालिका मन्दिर सेनकालीन मन्दिरका रूपमा चिनिन्छ । पाल्पाका राजा मणिमुकुन्द सेनले राज्य विस्तार गर्ने क्रममा यो क्षेत्रमा कालिकाको मन्दिर बनाएको विश्वास छ । यहाँ अहिले केबुलकार बनेपछि त झनै पर्यटकको आकर्षण बढेको लाम्गादेले जनाउनुभयो । मौलाकालिकामा आउने पर्यटकलाई अन्य सांस्कृतिक स्थलमा घुमाउने योजना बनाउन आवश्यक रहेको पनि उहाँले बताउनुभयो । 

मौलाकालिका केबुलकारका स्टेसन मेनेजर सुरज पौडेल अहिले मौलाकालिकाको महत्व बढ्दै गएको बताउनुहुन्छ । दैनिक हजारौँ भक्तजन मन्दिर दर्शन गर्न र यस वरपरका रमणीय क्षेत्र अवलोकन गर्न आउने गरेको उहाँले बताउनुभयो । 

मौलाकालिकापछि गैँडाकोटमा लक्ष्मीनरसिंह दिव्यधाम, राधाकृष्ण मन्दिर, हरिहर मन्दिर, हनुमान मन्दिर, बौद्ध गुम्बा, सीताराम मन्दिर, गोपेश्वर महादेव मन्दिर, कोटेश्वर शिवालय जस्ता धाार्मिक मन्दिर आकर्षणका केन्द्र छन् । 

यस्तै गैँडाकोटमै रहेको मणिमुकुन्द सेन दरबार एतिहासिक र पुरातात्त्विक महत्व बोकेको दरबार हो भने नारायणी नदी धार्मिक रूपमा महत्वपूर्ण छ । यो नदीमा हुने दैनिक जलयात्राले पर्यटकको मन लोभ्याइरहेको छ । 

गैँडाकोटमा रहेको थारू, मगर, गुरुङलगायतका संस्कृतिले पनि यहाँ सांस्कृतिक पर्यटकलाई आकर्षण गरिरहेको गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले बताउनुभयो । 

“यहाँ धार्मिक तथा सांस्कृतिक पर्यटनसँगै जल पर्यटनको पनि प्रचुर सम्भावना छ । यसका लागि नगरपालिकाले गुरुयोजना निर्माण गरेरै भए पनि पर्यटनको विकासमा लाग्ने योजना अघि सारेका छ,” प्रमुख अधिकारीले भन्नुभयो । 

धार्मिक र सांस्कृतिक पर्यटक गैँडाकोटको मौलिक पर्यटक भएकाले उनीहरूलाई जलपर्यटनतर्फ पनि आकर्षण बढाउन पर्ने उहाँको भनाइ छ । नारायणी नदी गैँडाकोट भएरै बग्ने हुँदा स्नान गर्ने भक्तजनलाई धार्मिक र जलाशय गरेर मनोरञ्जन लिने पर्यटकका लागि पनि यो महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।