• २७ कात्तिक २०८२, बिहिबार

निगममा कर्मचारी कटौती सुरु

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २७ गते । नेपाल वायुसेवा निगमले कर्मचारी कटौती अभियान सुरु गरेको छ । निगमलाई चुस्तदुरुस्त रूपमा सञ्चालन गर्न, आर्थिक दायित्व कम गर्न र निगमभित्र सुधारात्मक कामको थालनीस्वरूप पछिल्लो बदलिँदो परिस्थितिसमेत सम्बोधन गर्दै निगम व्यवस्थापनले पहिलो चरणमा छ जना कर्मचारीको करार सेवा रद्द गरेको जनाएको छ ।

निगमका प्रवक्ता अनिल घिमिरेका अनुसार निगममा व्यवस्थापकीय सुधार र खर्च कटौती गर्ने नीति अनुरूप पहिलो चरणमा काममा सक्रिय नरहेका एक जना करार र पाँच जना मासिक ज्यालादारीका कर्मचारीसँगको सम्झौता रद्द गरिएको हो । 

उहाँले भन्नुभयो, “प्रधानमन्त्री सुशीला कार्कीले पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारी हटाउन दिनुभएको निर्देशन र निगमको व्यवस्थापकीय पक्षमा सुधार ल्याउन खर्च कटौती गर्ने नीति अनुरूप कर्मचारी कटौतीको पहल थालिएको हो । 

सुरुवातमा दुई जना विराटनगर, तीन जना नेपालगन्ज र एक जना पोखरा स्टेसनमा कार्यरत कर्मचारीको सम्झौता रद्द गरिएको छ । अन्यको हकमा आवश्यकता र विश्लेषण जारी रहेको छ ।”

यसअघि प्रधानमन्त्री कार्कीले गत सोमबार निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीलाई निगमका निवर्तमान कार्यकारी अध्यक्ष युवराज अधिकारीले आफ्नो अवधि समाप्त हुने बेलामा नियुक्त गरेका कर्मचारी हटाउन निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीले कुनै समय गौरव गर्नलायक संस्थाको दर्दनाक अवस्थामा सुधार ल्याउन र निगमभित्रका बेथिति हटाउन निर्देशन दिनुभएको थियो ।    निगम स्रोतका अनुसार सेवा कटौती गरिएका कर्मचारी नयाँ भर्ना गरिएका कर्मचारी होइनन् ।

हाल निगममा एक हजार ४५८ कर्मचारीमध्ये ८५० जना स्थायी र बाँकी मासिक र करार सेवाका छन् । अन्य कर्मचारीलाई पनि बिस्तारै विभिन्न स्किम दिएर बिदाइ गरिने निगमले जनाएको छ ।

निगमले सञ्चालन गर्दै आएका आन्तरिक स्टेसनमध्ये हाल उडान सञ्चालनमा नरहेका आन्तरिक स्टेसन तथा उडान सञ्चालन रहेका आन्तरिक स्टेसनबाट हुने उडान सङ्ख्यालाई मध्यनजर गरी कर्मचारी कटौती गर्दै लाने नीति अघि बढाएको जनाएको छ । 

दुई वटै ट्विनअटर सञ्चालनमा

निगमले मर्मत र नियमित परीक्षणका लागि ग्राउन्डेड रहेको ट्विनअटर जहाज पुनः नियमित उडानमा फर्किएको जनाएको छ । नियामक निकाय तथा विमान निर्माता कम्पनीका मापदण्ड अनुसार वार्षिक मर्मतसम्भार तथा इन्जिनपछि मङ्गलबारदेखि डिएचसी–६ ट्विनअटर जहाज पुनः नियमित उडानमा आएको निगमले जनाएको हो । 

निगमले दुवै विमान पूर्ण रूपमा सञ्चालनमा आएसँगै दुर्गम भेगको हवाईसेवामा परिचालित भइसकेको जनाएको छ ।