दारसाना (बङ्गलादेश), कात्तिक २६ गते । हाल इस्लामवादी शक्ति पुनः राजनीतिकरूपमा सक्रिय हुँदै गरेको मुस्लिम बहुल देश बङ्गलादेशमा त्यहीँको एक मात्र सरकारी इजाजत प्राप्त डिस्टिलरीको परिसरमा मिठास मिसिएको सिरपको सुगन्ध फैलिएको छ ।
सरकारी स्वामित्वको ‘क्यारो एन्ड कम्पनी’ नामक यो उद्योगले पछिल्लो आर्थिक वर्षमा अभूतपूर्व नाफा कमाएको छ । यसलाई देशको कठोर मदिरा नीति र सामाजिक निषेधबीचको आश्चर्यजनक उपलब्धि मानिएको छ । विश्वको चौथो सबैभन्दा बढी जनसङ्ख्या भएको मुस्लिम राष्ट्र बङ्गलादेशमा मदिरा उत्पादन र बिक्री कडारूपमा नियमनमा राखिएको छ ।
करिब १७ करोड जनसङ्ख्या भएको देशमा विशाल बहुमतले यसका उत्पादन किन्न वा उपभोग गर्न पाउँदैनन् । यद्यपि, ८७ वर्षअघि ब्रिटिस शासनकालमा स्थापना भएको क्यारो एन्ड कम्पनीले आर्थिक वर्ष २०२४-२५ मा एक करोड अमेरिकी डलर बराबरको नाफा कमाएको र कर तिरेको कम्पनीका प्रबन्ध निर्देशक रबिक हसनले बताउनुभयो ।
“कम्पनीको इतिहासमै यो सबैभन्दा बढी नाफा हो”, हसनले भन्नुभयो, “हामीले आगामी वर्षमा अझ वृद्धि हुने अपेक्षा राखिरहेका छौँ ।” बङ्गलादेश पछिल्ला वर्षमा राजनीतिक अस्थिरताबाट गुज्रिएको छ । सन् २०२४ को अगस्टमा भएको जनआन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सरकारलाई अपदस्थ गरेको थियो । मानव अधिकार उल्लङ्घनको आरोपमा आलोचना खेप्दै १५ वर्ष शासन गरेकी हसिनाले इस्लामवादी समूहप्रति कडा नीति लिइरहनुभएको थियो ।
उहाँ भारततर्फ पलायन गरेपछि देशभित्रका इस्लामवादी शक्ति पुनः दृढ बनेका छन् । इस्लाममा निषेधित रक्सीलाई तिनले खासै निशाना नबनाए पनि सङ्गीत तथा नाटक उत्सव, महिला फुटबल प्रतियोगिता र चङ्गा उडाउने पर्व जस्ता ‘इस्लामविरोधी’ ठानेका सांस्कृतिक गतिविधिमाथि प्रतिबन्धको माग गर्न थालेका छन् ।
यस्तै अवस्थामा अन्तरिम सरकारले अब देशलाई सन् २०२६ फेब्रुअरीमा तय गरिएको आम निर्वाचनतर्फ अघि बढाइरहेको छ । दारसाना सीमावर्ती औद्योगिक क्षेत्रमा अवस्थित क्यारोको विशाल कारखानामा लगातार गुन्जिने मेसिनको आवाजबिच बोतल भरिँदै गर्छन् । कम्पनीका प्रमुख उत्पादन ‘इम्पेरियल ह्विस्की’ र ‘सारिना भोड्का’ हुन्, जसलाई नेदरल्यान्ड्सबाट आयात गरिएको स्वादका साथ उखुबाट डिस्टिल्ड गरिन्छ ।
“हामी कसैलाई पनि पिउन प्रोत्साहित गर्दैनौँ”, हसनले स्पष्ट पार्दै थप्नुभयो, “हामीले उत्पादन तिनीहरूलाई मात्र बेच्ने गर्छौं, जो पहिले नै पिउँछन् ।” बङ्गलादेशमा मादक पदार्थ खरिद गर्न सरकारी अनुमति अनिवार्य छ । मादक पदार्थ खरिद गर्न २१ वर्ष उमेर पूरा गरेका व्यक्तिलाई मात्र दिइन्छ र प्रायः गैर-मुस्लिमलाई मात्र उपलब्ध हुन्छ । अनुमतिपत्र लिन चिकित्सकीय सिफारिस आवश्यक हुन्छ ।
नार्कोटिक्स कन्ट्रोल विभागका महानिर्देशक हसन मारुफका अनुसार मदिरा निषेधित छ, तर केही समुदायका लागि अपवादको व्यवस्था गरिएको छ । त्यस्ता समुदायमा देशका चिया बगानमा कार्यरत विदेशी र स्थानीय कामदार पर्छन् । क्यारोको सस्तो मदिरा त्यहाँका करिब एक लाख ५० हजार मुख्यतया हिन्दु कामदारबिच लोकप्रिय छ ।
बङ्गलादेशको करिब १० प्रतिशत जनसङ्ख्या गैर-मुस्लिम (मुख्यतया हिन्दु) रहेको अनुमान छ । यस वर्ष कम्पनीको चिनी विभागले घाटा बेहोरे पनि त्यसका मिलले मल, भिनेगर र औद्योगिक मदिरा उत्पादन गरेका छन् । जमुना समूहको स्वामित्वमा रहेको देशको एक मात्र बियर उत्पादन गर्ने ‘हन्टर ब्रुअरी’ सँगै क्यारोले वैधानिक मदिराको प्रमुख स्रोत उपलब्ध गराइरहेको छ ।
अवैध मुनशाइन उत्पादन र आयातित मदिरामा हुने खतरनाक मिलावटको समस्याले ग्रस्त देशमा यी उत्पादन सुरक्षित विकल्पका रूपमा स्थापित भएका छन् । ४२ वर्षीय माछा व्यापारी प्रिन्स मामुनले आफू दुई दशकदेखि क्यारोका उत्पादन सेवन गर्दै आएको बताउनुभयो । “यो आयातित ब्रान्डभन्दा सस्तो र भरपर्दो छ”, उहाँले भन्नुभयो । महिनामा करिब २० दिन पिउने मामुनसँग आधिकारिक अनुमति पनि छ । “म क्यारोका उत्पादन कुनै शङ्का बिना पिउँछु”, उहाँले आत्मविश्वासपूर्वक भन्नुभयो ।
त्यस्तै, बोटलिङ युनिटमा कार्यरत ३८ वर्षीय शाह आलम नामका कर्मचारी कट्टर मुस्लिम हुनुहुन्छ तर कहिल्यै मदिरा नपिएको बताउनुहुन्छ । तर उहाँले डिस्टिलरीले स्थानीय समुदायमा रोजगारी, शिक्षा र सामाजिक सहयोगमार्फत पुर्याएको योगदानको प्रशंसा गर्नुहुन्छ ।
“म आफैँ केही पिउँदिनँ, न त बिक्रीमा संलग्न छु”, आलमले भन्नुभयो, “तर म गर्वका साथ भन्छु-यहाँ मैले गरिरहेको काम मेरो इमानदार पेसा हो ।” यसरी, धार्मिक र सामाजिक प्रतिबन्धबिच पनि क्यारो एन्ड कम्पनीको सफलताले बङ्गलादेशको अर्थतन्त्रमा अद्भुत विरोधाभास र अनपेक्षित उपलब्धिको उदाहरण प्रस्तुत गरेको छ । रासस/एएफपी