• २६ कात्तिक २०८२, बुधबार

रारा तालमा पोखिएको सुन्दरता (फोटो फिचर)

blog

मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–९, मा रहेको कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल रारा तालमा रमाउँदै पर्यटक । तस्बिरः हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा

मुक्तिनाथ, कात्तिक २६ गते । मुगुको छायाँनाथ रारा नगरपालिका–९, मा रहेको कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल रारा तालमा डुङ्गा सयर गरेर पर्यटकहरू रमाउने गरेका छन् । 

समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटरको उचाइमा रहेको रारा ताल पछिल्लो समय समूहमा भ्रमण जाने आकर्षक गन्तव्य बनेको छ । विश्वमा अन्यत्र नपाइने ‘ ट्राउट’ माछाको समेत बासस्थान रहेको रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको तालमा बर्सेनि पुग्ने पर्यटकको करिब ९० प्रतिशतभन्दा बढी स्वदेशी पर्यटक हुने स्थानीय पर्यटन व्यवसायीहरूको भनाइ छ । 

१०.८ किलोमिटर क्षेत्रफलमा फैलिएर राराको लम्बाइ ५ किलोमिटर, चौडाइ ३ किलोमिटर र गहिराइ १६७ मिटर छ । बिहान कालो, दिउँसो नीलो, साँझ सप्तरङ्गी देखिने तालको रङ फेरेको हेर्न पर्यटकले घण्टौ तालमा बिताउने गरेको घुम्न जानुभएका म्याग्दी उद्योग वाणिज्य सङ्घ म्याग्दीका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । 

रारा तालसम्म पुग्न मुगुको सल्लेरीबाट करिब एक घण्टा पैदल यात्रा तथा शुल्क तिरेर घोडामा समेत सयर गर्न सकिन्छ । हाल म्याग्दी उद्योग वाणिज्य सङ्घले अध्ययन अवलोकन भ्रमणको सिलसिलामा ३५ जनाको टोलीले करिब ८ दिने कर्णाली प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरेको छ । 

रारा तालभित्र डुङ्गामा सयर गर्न ४५ मिनेटको प्रतिव्यक्ति ५ सय शुल्क लिने गरिन्छ भने घोडामा दूरी अनुसारको शुल्क लिने गरिएको छ । रारासम्म सवारी साधन प्रवेश निषेध छ । रारासम्म पुग्दा कर्णाली प्रदेशको सडक आसपासका जनजीवन, नेपाली भाषा साहित्यको उद्गमस्थल सिँजा लगायतका अति सुन्दर र पुराना बस्तीलाई समेत अवलोकन गर्न पाइन्छ । 

रारा सडक र हवाई दुबै माध्यमबाट जान सकिन्छ । लामो यात्रा हुने भएकाले न्यूनतम ३० देखि ५० हजारको खर्च गर्न सक्ने गरी राराको यात्रामा जान सकिन्छ ।