• २६ कात्तिक २०८२, बुधबार

बालिकाको डुबेर मृत्यु

blog

नागेन्द्रकुमार कर्ण

महोत्तरी, कात्तिक २६ गते । महोत्तरीको सोनमा गाउँपालिकाको खेश्राहामा गए राति डुबेर एक बालिकाको मृत्यु भएको छ । सोनमा गाउँपालिका–४, खेश्राहा बस्ने दुलारचन महतो नुनियाको तीन वर्षिया छोरी सीताकुमारी महतोको मङ्गलबार राति सोही ठाउँको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले साँझदेखि हराएको भनिएकी छोरीको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको थियो । 

आमा घाँस काट्न चौरीमा गएको तथा साँझ आएपछि घरमा उनलाई खोज्दा नभेटेपछि खोजतलाश गर्दै जाँदा साँझ ८ बजेतिर पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको जनाइएको छ । 

यसैबिच जिल्लाको औरही नगरपालिकामा मङ्गलबार राति एक महिलामाथि छुरा प्रहार भएको छ । औरही नगरपालिका वडा १ बस्ने ४२ वर्षीया सरस्वतीदेवी मण्डलमाथि सोही स्थानका करिब २६ वर्षिय युवा राकेश चौधरीले घरभित्र पसेर छुरा प्रहार गरेको जनाइएको छ । 

घटनामा गम्भीर घाइते भएकी मण्डललाई उपचारका लागि बर्दिवासस्थित शुभ स्वस्तिक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले छुरा प्रहार गरेको आरोपमा सोही स्थानका युवा चौधरीलाई प्रहरीले घटनापछि खोजी गरी राति नै नियन्त्रणमा लिएको जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको  उहाँले बताउनुभयो ।