• २६ कात्तिक २०८२, बुधबार

सङ्गिनी नाचलाई पुनर्जीवित गर्ने अभियान

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, कात्तिक २६ गते । मोरङको पथरीशनिश्चरे–३ स्थित महिला जागरुक हरिकीर्तन तथा सङ्गिनी समूहले हराउँदै गएको सांस्कृतिक धरोहर सङ्गिनी नाचलाई पुनर्जीवित गर्ने अभियान थालेको छ । आधुनिक युगका डिजिटल मनोरञ्जनका साधन (टेलिभिजन, युट्युब, अनलाइन खेल, स्मार्ट फोन) मा रमाइरहेको नयाँ पुस्ताका किशोरीलाई यस समूहका आमाहरूले आफ्नै संस्कृतिसँग जोड्ने काम गरिरहनुभएको छ । 

मनोरञ्जन र सञ्चारका साधन नहुँदा, विवाह, व्रतबन्ध र धार्मिक मेलामा गाउँघरमा रातभर बालन र सङ्गिनी खेल्दै रमाउने चलन थियो । रात काट्न पुरुषले बालन र महिलाले सङ्गिनी नाचेर आफ्नो संस्कृति जोगाउने काम गर्थे । अहिले ती परम्परा हराउँदै गएका छन् । यस्तो अवस्थामा पथरीशनिश्चरेका ४१ जना आमाको यो समूहले पुरानो परम्परालाई नयाँ पुस्तासँग पुनः जोड्न मेहनत गरिरहनुभएको छ । 

किशोरीहरू हरेक साँझ अध्ययनको काम सकेर स्थानीय मन्दिर र सामुदायिक भवनमा गीत र तालमा अभ्यास गर्छन् । कक्षा ७ मा अध्ययनरत षष्टिका खतिवडाले भन्नुभयो, “सबै जातजातिका आआफ्ना सांस्कृतिक परम्परा हुन्छन् । हाम्रा आमाहरूले परम्परादेखि नाच्दै, गाउँदै आएको सङ्गिनी हो भन्ने बुझ्न थालेपछि आमाहरूसँगै नाच्न, गाउन थालेकी हुँ ।”

षष्टिकासँगै कुस्मा भट्टराई, प्रकृति खतिवडा, अमिषा खतिवडा, अपेक्षा खतिवडा, दीपिका भट्टराई, सम्पदा घिमिरे, आकृति पोखरेल र मेलिना पोखरेलले पनि सङ्गिनी नाचको अभ्यास गरिरहनुभएको छ । उहाँहरू मेलापातमा गाइने विरह गीतदेखि लिएर महिला सशक्तीकरणका आधुनिक गीतसम्म गाउँदै नाच्ने गर्नुहुन्छ । अपेक्षा घिमिरेले भन्नुभयो, “सुरुका दिनमा अलि डर लाग्थ्यो तर अहिले आत्मविश्वास बढेको छ । जुनसुकै अवसरमा गाउन र नाच्न सक्ने भएकी छु ।”

महिला जागरुक हरिकीर्तन तथा सङ्गिनी  समूहकी अध्यक्ष ७० वर्षीय मनमाया पोखरेलले  सङ्गिनी नाच लोप नहोस् भन्ने उद्देश्यले पछिल्लो पुस्तालाई सांस्कृतिक सिप हस्तान्तरण गरेको बताउनुभयो  । हामी ४१ जना आमाको सङ्गिनी समूह छ । समूहभित्रका आमाका छोरी नातिनीलाई सहभागी गराएर सिप सिकाएका छौँ । उहाँले थप्नुभयो, “अरूका छोरीले सिकुन् नसिकुन्, हामीले आफ्नै छोरी, नातिनीहरूलाई यो परम्परा हस्तान्तरण गरिरहेका छौँ । यो हाम्रो पुख्र्यौली पहिचान हो, जसलाई जीवित राख्नु हाम्रो जिम्मेवारी हो ।”