अमृतप्रसाद पौडेल
म्याग्दी, कात्तिक २६ गते । धवलागिरी गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको उपाधी धनजनता माध्यमिक विद्यालय मुना फलियागाउँले जितेको छ ।
२८ स्वर्ण पदकका लागि आइतबारदेखि सुरु भएर मङ्गलबार सकिएको उक्त प्रतियोगितामा १३ स्वर्ण, पाँच रजत र तीन काँस्य पदक जितेर धनजनता माध्यमिक विद्यालयले उपाधी कब्जा जमाएको हो । धनजनताले यस अगाडिको पाँचौ राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको पनि उपाधी जितेको थियो ।
त्यसैगरी, सात स्वर्ण, चार रजत र पाँच कास्य पदक जितेको ताकम माध्यमिक विद्यालय दोस्रो हुँदा दुई स्वर्ण छ रजत र छ काँस्यसहित हेम नमुना आवासिय माध्यमिक विद्यालयले तेस्रो स्थान हासिल गरेको धवलागिरी गाउँपालिकाको शिक्षा शाखा प्रमुख ख्यामराज सुवेदीले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुने विद्यालयले ६० हजार, रनिङ शिल्ड ट्रफि तथा प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी, दोस्रो हुनेले ४० हजार र तेस्रो हुनेले ३० हजार नगदसहित ट्रफि प्राप्त गरेको गाउँपालिकाले जनाएको छ ।
२८ स्वर्ण पदकका लागि भएको प्रतियोगितामा भलिबल तर्फ छात्रछात्रा गरी २ स्वर्ण र बाँकी २५ स्वर्ण पदक एथलेटिक्स बिधाका खेलमा रहेको थियो ।
एथलेटिक्स बिधातर्फ १ सय, २ सय, ४ सय, ८ सय, १५ सय, ३ हजार मिटर दूरीको दौड तथा चार गुण एक सय र चार गुण चार सय मिटरको रिलेदौड ट्रयाकतर्फ र फिल्ड तर्फ हाईजम्प, लङजम्प, त्रिपजम्प, ज्याभलिन थ्रो, सटपुट भएको थियो । प्रतियोगितामा सुरुमा भएको मार्चपासमा पनि धनजनता माध्यमिक विद्यालय मुना फलियागाउँ प्रथम हुँदै नगद १० हजार पुरस्कार जितेको थियो ।
धवलागिरी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कबड्डी र मार्सल आर्टतर्फका खेल भने भएनन् । राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा एथलेटिक्समा २६, भलिबल २, कबड्डी २ तथा मार्सल आर्टतर्फका उसु १२, तेक्वान्दो १२ र कराँते १२ गरी ६६ स्वर्ण पदकका लागि जिल्ला, प्रदेश र केन्द्रीय स्तरमा प्रतियोगिता हुने गर्दछ ।
राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० को पाँचौं संशोधनको परिच्छेद १ को दफा २ को उपदफा (झ)मा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भन्नाले चालु शैक्षिक सत्रमा कक्षा १२ सम्म नियमित रुपमा अध्ययनरत १८ वर्ष भन्दा मुनिका छात्रछात्राहरु बिच आआफ्नो समूहमा हुने प्रतियोगिता सम्झनु पर्दछ भन्ने उल्लेख छ । सोही अनुरुप सञ्चालित धवलागिरी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिका भित्रका १२ विद्यालयले सहभागिता जनाएको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिनुभयो ।
प्रतियोगिताको हकमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० ले दफा १४ को प्रतियोगिता सञ्चालन प्रकृयाको उपदफा १६ मा कात्तिकसम्म स्थानीय तह स्तरमा, पुस सम्म जिल्ला स्तर, माघसम्म प्रदेश स्तर र फागुन सम्ममा केन्द्रीय प्रतियोगिता सञ्चालन गर्ने तोकिएको छ ।
स्थानीय तह स्तरीय प्रतियोगिताका स्वर्ण पदक विजेता खेलाडीहरु जिल्ला स्तरीय प्रतियोगितामा सहभागिताका लागि योग्य हुने जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो ।