• २६ कात्तिक २०८२, बुधबार

क्षतिकै विवरण सङ्कलन भएन, किसानले मारे राहतको आस

blog

सर्लाही समाचारदाता

सर्लाही, कात्तिक २६ गते । मध्य कात्तिकको वर्षाले धान बालीमा पुगेको क्षतिको विवरण अझैसम्म सङ्कलन हुन सकेको छैन । कात्तिक १३ गतेदेखि १५ गतेसम्मको वर्षाले सर्लाहीका किसानले काटेर खेतमा पाँजा सुकाएको र काट्ने बेला भएको धान बालीमा व्यापक क्षति गरेको थियो ।

कृषि ज्ञान केन्द्र सर्लाहीले जिल्लाका २० वटै पालिकालाई पत्र लेख्दै तीन दिनभित्र क्षतिको विवरण उपलब्ध गराइदिन आग्रह गरे पनि अहिलेसम्म कार्यालयलाई विवरण प्राप्त भएको छैन । पीडित किसानले क्षतिको विवरण सङ्कलन गर्न र आफूले बेहोर्नु परेको पीडाबारे सोधीखोजी गर्न कोही नआएको गुनासो गरेका छन् । 

वर्षाले एक बिघा खेतको धान भिजेको हरिपुर नगरपालिका–२, सानो जगतपुरका किसान हेम थापाले अहिलेसम्म पानीले के कति क्षति पु¥यायो भनी बुझ्न कोही पनि नआएको बताउनुभयो । 

“सरकारले राहत दिने कुरा गर्छ तर अहिलेसम्म के कति क्षति भयो भनेर न कोही सोध्न आएको छ न त कतैबाट आश्वस्त पार्ने काम भएको छ,” थापाले गुनासो गर्नुभयो, “तीन दिनको पानीमा भिजेर खेतमै उम्रिएको धान जसोतसो भित्र्याउने काम त गरियो तर क्षतिबारे कुनै पनि निकायले वास्ता गरेनन् ।” तीन दिन लगातार परेको पानी र त्यसपछि डुबानमा परेको धान खेतमै उम्रिएर क्षति पुगेको अधिकांश किसानको गुनासो छ । 

स्थानीय तहका कृषि शाखाले यसअघिका वर्षमा यसै गरी धान तथा अन्य बालीमा वर्षाबाट पुगेको क्षतिको विवरण सङ्कलन गरेर पठाउँदा किसानले राहत नपाएकाले पुनः विवरण सङ्कलन गर्न जान समस्या रहेको बताएका छन् । बागमती नगरपालिकाको कृषि शाखाका प्रमुख अवधेश झाले विवरण सङ्कलनका लागि जाँदा यसअघि केही पाइएन भन्दै किसानले विवरण दिनै आनाकानी गर्ने गरेको झाको भनाइ छ । 

“यसभन्दा पहिले पनि हामीले क्षतिको डाटा पठाएकै हो तर किसानले केही पाउन सकेनन्, त्यसैले हामीलाई विवरण लिन जान मात्रै समस्या छ,” झाले भन्नुभयो, “किसान पनि कहीँकतैबाट केही त पाइँदैन के डाटा लिनुहुन्छ भन्नुहुन्छ, त्यसैले डाटा लिनै समस्या छ ।” झाले प्रत्येक वडा कार्यालयलाई पत्र काटेर वर्षाका कारण धान तथा अन्य बालीमा पुगेको क्षतिको विवरण उपलब्ध गराइदिन आग्रह गरेको बताउनुभयो । 

सर्लाहीमा यस वर्ष ३९ हजार ४९० हेक्टरमा धान खेती भएको छ । गत वर्षभन्दा कम क्षेत्रफलमा धान खेती भएको र असोज र कात्तिकमा भएको भारी वर्षाले व्यापक क्षति गर्दा धान उत्पादनमा गिरावट आउने अवस्था रहेको कृषि ज्ञान केन्द्र मलङ्गवाका सूचना अधिकारी सीमा कार्कीले बताउनुभयो । 

कार्कीले सबै पालिकाबाट वर्षाका कारण पुगेको क्षतिको विवरण आइनसकेको बताउनुभयो । जिल्लाभर करिब एक हजार हेक्टरमा लगाइएको धानमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भए पनि सबै पालिकाले विवरण नदिँदा समस्या परेको कृषि ज्ञान केन्द्रकी सूचना अधिकारी कार्कीको भनाइ छ । 

महिना दिनको अन्तरालमा भएको भारी वर्षाले जिल्लामा २५० हेक्टर उखु बाली र दुई सय हेक्टरको तरकारी बालीमा समेत क्षति गरेको कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ ।