गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २६ गते । बागमती प्रदेशमा सञ्चालित उद्योगमा १२ खर्ब रुपियाँभन्दा बढीको ऋण लगानी भएको छ । गत असार मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थाले बागमती प्रदेशका उद्योगमा प्रवाह गरेको कर्जा १३.८ प्रतिशतले बढेर १२ खर्ब ११ अर्ब पाँच करोड रुपियाँ पुगेको छ । गत वर्ष यस्तो कर्जा ११.५ प्रतिशतले वृद्धि भई १० खर्ब ६३ अर्ब ९४ करोड रुपियाँ पुगेको थियो । नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ मा आधारित ‘बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन’ का अनुसार बागमती प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३६.४ प्रतिशत छ ।
औद्योगिक कर्जामध्ये काठमाडौँ जिल्लामा सबैभन्दा बढी ११ खर्ब १९ अर्ब ३० करोड रुपियाँ (९२.४ प्रतिशत) र सबैभन्दा कम रसुवा जिल्लामा १३ करोड (०.०१ प्रतिशत) रुपियाँ कर्जा लगानी छ । अधिकांश औद्योगिक प्रतिष्ठानको केन्द्रीय कार्यालय काठमाडौँमा रहेकाले औद्योगिक कर्जाको उच्च हिस्सा काठमाडौँमा देखिएको सो अध्ययनले देखाएको छ ।
कृषि कर्जा ३६.१६ प्रतिशत
समीक्षा अवधिमा क्षेत्रमा प्रवाहित कर्जा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.३ प्रतिशतले बढेर एक खर्ब २१ अर्ब रुपियाँ पुगेको छ । गत वर्ष यस्तो कर्जा ५.१ प्रतिशतले घटेको थियो ।
बागमती प्रदेशमा बैङ्क तथा वित्तीय संस्थाले कुल कर्जाको ३.७ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गरेका छन् । कुल कृषि कर्जामध्ये बागमती प्रदेशमा प्रवाह भएको कृषि कर्जाको हिस्सा ३६.१६ प्रतिशत रहेको छ ।
कृषिक्षेत्रमा प्रवाहित कर्जामा काठमाडौँको हिस्सा सबैभन्दा बढी ५२.६ प्रतिशत, चितवनको हिस्सा २३.१ प्रतिशत, मकवानपुरको हिस्सा ४.७ प्रतिशत, काभ्रेपलाञ्चोकको हिस्सा ४.३ प्रतिशत र दोलखा जिल्लाको हिस्सा सबैभन्दा कम ०.५ प्रतिशत छ ।
जिल्लागत कृषि कर्जाको अवस्था हेर्दा काठमाडौँ र चितवनमा अधिक छ । अधिकांश बैङ्क तथा वित्तीय संस्थाको कर्जा सीमाबमोजिम केन्द्रीय एवं क्षेत्रीय कार्यालयबाट कर्जा स्वीकृत हुने र त्यस्ता कार्यालय धेरै जसो काठमाडौँ जिल्लामा भएका कारण सो जिल्लाको कृषि कर्जाको हिस्सा बढी देखिने गरेको अनुमान छ ।
बैङ्क तथा वित्तीय संस्थाले बागमती प्रदेशबाट सङ्कलन गरेको कुल निक्षेप गत वर्षको तुलनामा १०.८४ प्रतिशत र कर्जा प्रवाह ११.३५ प्रतिशतले बढेको छ । गत असार मसान्तमा कर्जा निक्षेप अनुपात औसतमा ६९.२७ प्रतिशत छ ।
आर्थिक वृद्धिदर ५.२ प्रतिशत
प्रतिवेदन अनुसार बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.२ प्रतिशत रहने छ यस्तो वृद्धि अघिल्लो आवमा ३.७ प्रतिशत रहेको थियो । नेपालको कुल गार्हस्थ उत्पादनमा यस प्रदेशको ३६.५ प्रतिशत योगदान छ ।
गत आवमा यस प्रदेशको कुल गार्हस्थ उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ११.८ प्रतिशत, ११.१ प्रतिशत र ७७.१ प्रतिशत रहने अनुमान छ । गत आवमा यस प्रदेशमा कोदो उत्पादन ५.२ प्रतिशतले बढेकोमा सोही अवधिमा धान उत्पादन १.१ प्रतिशतले मकै उत्पादन पाँच प्रतिशतले फापर उत्पादन ५.१ प्रतिशतले गहुँ उत्पादन १८.५ प्रतिशतले र जौ उत्पादन ३२.६ प्रतिशतले घटेको छ ।
यस्तै तरकारी तथा बागवानीको उत्पादनमा १६.२ र अन्डा उत्पादन २.७ प्रतिशतले वृद्धि हुँदा दुध उत्पादन १.२ प्रतिशतले र मासु उत्पादन २.९ प्रतिशतले घटेको छ ।